प्रतिनिधि सभाको आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नयाँ राजनीतिक दल र स्वतन्त्रबाट ३ सय ९१ जना महिलाको उम्मेदवारी परेको छ। जबकी, २ हजार ५ सय ८९ पुरुष उम्मेदवार प्रतिस्पर्धामा छन्।
त्यसमध्ये मुख्य दलहरूले उठाएको महिला उम्मेदवारको संख्या न्यून रहेको छ।
१६५ वटै क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले ११ जना महिला उठाएको छ।
प्रत्यक्षतर्फ १०६ जना नयाँ उम्मेदवार बनाएका कांग्रेस सभापति गगन थापाले गण्डकी र सुदूरपश्चिम प्रदेशमा कुनै पनि महिला उम्मेदवार उठाएनन्। काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा मात्र महिला नेताको उम्मेदवारी परेको छ।
झापा २ मा सरिता प्रसाईं, झापा ५ मा मन्धरा चिमरिया, महोत्तरी ३ मा किरण यादव, सिरहा ४ मा चन्द्रकलाकुमारी यादव, सिन्धुली २ मा सुशीला थिङ, मकवानपुर १ मा महालक्ष्मी उपाध्याय ‘डिना’, काठमाडौँ ८ मा सपना राजभण्डारी, काठमाडौँ ९ मा नानु बास्तोला, चितवन २ मा मीनाकुमारी खरेल, पूर्वी रुकुममा कुसुमदेवी थापा मगर र दैलेख १ मा वासना थापालाई उम्मेदवार बनाएको छ।
डिना, प्रसाईं, सुशीला थिङ, किरण यादव, राजभण्डारी, कुसुमदेवी थापा मगर पूर्वसांसद हुन् भने चिमरिया, चन्द्रकला यादव र बास्तोलाले सांसद बन्ने मौका पाएका छैनन्।
एमालेले सोलुखुम्बुमा कल्पना राई, ओखलढुङ्गामा अस्मिता थापा, बारा ३ मा ज्वालाकुमारी शाह र धनुषा २ मा जुली महतोलाई उम्मेदवार बनाएको छ। यस्तै, बाग्लुङ २ मा मञ्जु चालिसेलाई उम्मेदवार बनाएको छ। एमालेले कर्णाली र सुदूरपश्चिममा महिला उम्मेदवार उठाएको छैन।
यता, १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कम्युनिस्ट पार्टीले १२ जना महिला उम्मेदवार बनाएको छ।
झापा २ मा धर्मशिला चापागाईंँ, संखुवासभामा सरिता खड्का थापा, सुनसरी २ मा रामकुमारी चौधरी, सप्तरी ४ मा रुवीकुमारी कर्ण, काठमाडौँ १ मा मेनका भण्डारी, काठमाडौँ ४ मा कल्पना शर्मा, काठमाडौँ १० मा रुपा महर्जन, कञ्चनपुर १ मा बिना मगर र चितवन ३ मा रेनु दाहाललाई उम्मेदवार बनाएको छ।
यस्तै, काभ्रेपलाञ्चोक २ मा बसुन्धरा हुमागाईँ, लुम्बिनीको नवलपरासी पश्चिममा सिन्धु जलेशा र मनाङमा यशोदा सुवेदी गुरुङ नेकपाको उम्मेदवार बनेका छन्।
नेकपाले उपत्यकामा मात्रै ३ जना महिलालाई प्रतिनिधि सभाको टिकट दिएको छ।
रास्वपाले १० जना महिलालाई उम्मेदवार बनाएको छ।
काठमाडौँ १ बाट रञ्जु दर्शना, झापा १ मा निशा डाँगी, झापा २ मा इन्दिरा राना मगर, मोरङ ५ मा आशा झा, मोरङ ६ मा रुविना आचार्य, सुनसरी १ मा सरिन (गोमा) तामाङ, कास्की ३मा बिना गुरुङ, जुम्लामामा विनिता कठायत, हुम्लामा टासी लाह्जोम, चितवन ३ मा सोविता गौतम, धादिङ १ मा आशिका तामाङ चुनावी प्रतिस्पर्धामा छन्।
नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निशा अधिकारीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। भर्खरै निर्वाचन आयोगमा दर्ता भएको 'गतिशील लोकतान्त्रिक पार्टी' बाट उनले मनोनयन दर्ता गराएकी हुन्।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ जना महिला उम्मेदवार उठाएको छ भने अन्य दलहरूले पनि देशभर उम्मेदवार उठाएका छन्।
Shares

प्रतिक्रिया