नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।
उनले मतदाता र जनसमुदायसँग साथ, सहयोग र समर्थनको अपील गरेका छन्।
उम्मेदवारी दर्तापछि श्रेष्ठले भने, ‘२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मैले सर्लाही-३ बाट हाम्रो पार्टीको तर्फबाट उम्मेदवारी दिएको छु। यस क्षेत्रका सम्पूर्ण मतदाता र जनसमुदायसँग पूर्ण विश्वासका साथ समर्थनको अपील गर्दछु।’
उनले अहिलेको निर्वाचन ‘जेनजी आन्दोलन’ पछिको विशेष परिस्थितिमा हुन लागेको उल्लेख गर्दै भनेका छन्, ‘यो सामान्य निर्वाचन होइन, देशको दिशा तय गर्ने विशेष महत्वको निर्वाचन हो।’
आजको निर्वाचनमा राष्ट्रिय स्वाधीनता, सुशासन, रोजगारी, स्वास्थ्य र शिक्षा आफूहरुको मुख्य राष्ट्रिय कार्यभार रहेको उनको भनाइ छ।
सर्लाही-३ बाट उम्मेदवारी दिनुको कारण स्पष्ट पार्दै उनले भने, ‘सर्लाहीका जनताको अनुरोध स्वीकार गर्दै मधेसको विकास, सामाजिक न्याय र राष्ट्रिय एकता बलियो बनाउने उद्देश्यले यहाँबाट उम्मेदवारी दिएको हुँ।’
आफ्नो प्रतिबद्धता दोहोर्याउँदै उनले भनेका छन्, ‘म राष्ट्रिय स्वाधीनता, विधिको शासन र भ्रष्टाचारविरुद्ध कहिल्यै सम्झौता गर्दिन, सधैं जनताको पक्षमा संघर्षरत रहनेछु।’
Shares

प्रतिक्रिया