राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मधेस प्रदेश कमिटी सदस्य डा.इन्द्रजित महतोले पार्टी नेतृत्वले प्रतिनिधिसभा उम्मेदवारको टिकट बिक्री गरेको आरोप लगाएका छन्।
सर्लाही ३ बाट टिकटका आकांक्षी महतो मेडिकल डाक्टर हुन्।
‘सर्लाही ३ मा रास्वपाबाट सबैभन्दा बलियो दाबेदार म नै थिएँ,’ महतोले नेपालखबरसँग भने, ‘तर हिजो मात्रै रास्वपा प्रवेश गरेका अमरेस सिंह, जिल्ला सभापति सरोज बानियाँ लगायतले नरेन्द्र साहलाई टिकट बेचे।’ उनले टिकट किनबेचमा रास्वपाका प्रवक्ता मनिष झा, पुरुषोत्तम यादव लगायत पनि सहभागी भएको आरोप लगाएका छन्।

गएराति जनकपुरमा प्रतिनिधिसभाको टिकट किनबेच भएको आरोप महतोको छ।
‘टिकट किनबेच भएपछि राति जनकपुरमा नेताहरुविरुद्ध नाराजुलुश पनि भयो,’ उनले भने, ‘परिवर्तनको नेतृत्व गर्छु भनेर आएको रास्वपा पनि पुरानै पार्टीहरू जस्तो भएर देखापर्यो।’
सर्लाही ३ बाट महतोसँगै रास्वपाका जिल्ला सभापति सरोज बानियाँ, दिपक महतो लगायतका नेता उम्मेदवारका आकांक्षी थिए।
सर्लाही ३ मा रास्वपाको टिकट पाउने साह अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचन लडेर थोरै मतान्तरले एमाले उम्मेदवारसँग पराजित भएका थिए।
यसपटक सर्लाही ३ मा नेकपाले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएपछि अघिल्लो निर्वाचन अघि माओवादी प्रवेश गरेका साहले निर्वाचन लड्न रास्वपाबाट टिकट लिएका हुन्।
आकांक्षीहरूलाई अनलाइन फारम भर्न लगाएर प्रत्येकसँग २५ हजार असुलेपछि रास्वपासँग यसअघि कुनै साइनो सम्बन्ध पनि नभएका साहलाई टिकट बिक्री गरिएको महतोको भनाई छ। सर्लाही ३ बाट ६ जनाले २५/२५ हजार तिरेर उम्मेदवारको अनलाईन फारम भरेका थिए।
‘अन्तिममा उम्मेदवारका आकांक्षीबीच प्राइमरि भोटिङ पनि नगराई नरेन्द्र साहलाई टिकट बेचियो,’ महतोले भने।
यो घटनापछि आफू पार्टी छाड्ने मनस्थितिमा पुगेको उनले बताए। ‘अहिले नै आधिकारि रुपमा पार्टी छाडिसकेको त छैन,’ उनले भने, ‘सर्लाहीमा रास्वपा मैले बनाएको हो। यस्तो अवस्था भएपछि अब यो पार्टीमा कसरी बस्नु?’
तर, रास्वपा सर्लाहीका सभापति सरोज बानियाँले भने सर्लाही ३ मा जित्ने उम्मेदवार खोज्ने क्रममा पार्टी नेतृत्वले नरेन्द्र साहलाई टिकट दिएको बताए। ‘यहाँ कुनै लेनदेनको कुरा छैन,’ उनले भने, ‘अघिल्लो निर्वाचनमा थोरै मतान्तरले हार्नुभएका नरेन्द्र साहलाई पार्टी नेतृत्वले यसपटक उम्मेदवार बनाउने निर्णय गरेको छ। यसमा हामी सबैको साथ र सहयोग हुनुपर्छ। इन्द्रजित डाक्टर सापले पनि सहयोग गर्नुपर्छ।’
डा.महतो नागरिकता कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध प्रहरीमा जाहेरी दिने नेता हुन्।
रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री भएको बेला उनी सिरोहियाविरुद्ध उजुरी गरेर चर्चामा आएका थिए।
सर्लाहीको हरिवन निवासी एमडी जीपी डाक्टर महतोले हरिवनकै नोचामा पोलिक्लिनिक सञ्चालन गर्दै आएका छन्। उनी गृहमन्त्री रवि लामिछाने निकट मानिन्छन्।
०७९ को निर्वाचनमा महतोले सर्लाही क्षेत्र नम्बर– ३ को प्रदेशसभा (क)मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका थिए।
तर, लौरो चुनाव चिह्नमा प्रदेश सभा सदस्यको निर्वाचन लडेका उनले निर्वाचनमा ६८६ मत मात्रै पाएका थिए। त्यहाँबाट निर्वाचन जितेका माओवादी केन्द्रका जवाहरलाल कुशवाहाले १६ हजार ५९१ मत प्राप्त गरेका थिए।
Shares

प्रतिक्रिया