नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गरेका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका खनालले अब नयाँ पुस्तालाई मौका दिनुपर्ने महसूस गरेर चुनाव नलड्ने निर्णयमा पुगेको बताए। ‘म त अहिले चुनाव नलड्ने भएँ,’ खनालले नेपालखबरसँग भने।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा भएको हमलाले पनि चुनाव लड्ने अवस्था नरहेको उनले सुनाए। ‘भदौ २४ को विध्वंसको क्रममा ममाथि नै हमला भयो। परिवारमाथि ठूलो हमला भयो,’ खनालले भने, ‘परिवारको अझै हिडडुल गर्न सक्ने अवस्था छैन। स्याहारसुसार गर्नुपर्ने त छँदै छ।’
खनाल पत्नी राज्यलक्ष्मी चित्रकारमाथि गत भदौ २४ गते घरमै आक्रमण भएको थियो। घरभित्रै रहेको आगजनी गरिएपछि उनी गम्भीर घाइते भएकी थिइन्। उनको भारतमा उपचार भएको थियो।
यस्तो अवस्थामा चुनाव लड्न नलड्ने निर्णयमा पुगेको उनले जानकारी दिए। चुनाव नलड्ने निर्णयबारे अब पार्टीका नेता तथा कार्यकर्तालाई पनि जानकारी गराउने उनको भनाइ छ।
पूर्वप्रधानमन्त्री खनाल इलाम-१ बाट चुनाव लड्दै आएका थिए। गत निर्वाचनमा पराजित भएका थिए। यस पटक पनि इलामका नेता तथा कार्यकर्ताले चुनाव लड्न आग्रह गरेका थिए।
पारिवारिक अवस्थाले इलाम दौडधुप गर्न गाह्रो हुने भए काठमाडौँ-८ बाट चुनाव लड्न नेता तथा कार्यकर्ताले आग्रह गरेका थिए। त्यस्तै, बागलुङ र दैलेखबाट पनि उम्मेदवार बन्न ‘अफर’ आएको थियो।
विभिन्न ठाउँबाट कार्यकर्ताले ‘अफर’ गरेको भए पनि पारिवारिक तथा अन्य सबै अवस्था हेरेर युवा पुस्तालाई मौका दिनुपर्ने निष्कर्षमा पुगेको उनको भनाइ छ। ‘अब युवालाई मौका दिने हो। ७० पुगेका बुढाहरूले अन्य भूमिकामा बसेर सघाउने हो,’ खनालले भने।
उनी ७५ वर्षका भए। १५ वर्षकै उमेरमा राजनीतिमा लागेका खनाल २०४८ सालमा पहिलो पटक संसदीय चुनाव लडेका थिए। त्यतिवेला उनी इलाम-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
त्यसपछि २०५१ सालमा इलाम-१ बाटै निर्वाचत खनाल २०५६ सालमा पराजित भएका थिए। २०४६ र २०७० सालको संविधान सभा निर्वाचनमा इलाम-१ बाटै निर्वाचित भएका थिए।
उनी २०७० सालको संविधान सभा निर्वाचनमा सर्लाही-१ बाट पनि उम्मेदवार बनेका थिए। सर्लाहीबाट भने पराजित भएका थिए।
२०७४ सालमा इलाम-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका खनाल पछिल्लो पटक २०७९ सालको निर्वाचनमा पराजित भएका थिए।
नेकपा (एमाले)का पूर्व अध्यक्ष खनाल विभाजनपछि नेकपा (एकीकृत समाजवादी)मा लागेका थिए। अहिले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेको छ। नेकपाका वरिष्ठ नेता खनाल २०६७ सालमा प्रधानमन्त्री बनेका थिए।
Shares

प्रतिक्रिया