राजनीति


अघिल्लो निर्वाचनमा कांग्रेस विजयी भएको स्याङ्जाका दुवै क्षेत्रमा एमालेले टुंग्यायो उम्मेदवार

अघिल्लो निर्वाचनमा कांग्रेस विजयी भएको स्याङ्जाका दुवै क्षेत्रमा एमालेले टुंग्यायो उम्मेदवार

नेपालखबर
माघ ४, २०८२ आइतबार १३:५८, काठमाडौँ

एमालेले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाबाट दुई उम्मेदवारको टुङ्गो लगाएको छ। 

एमालेले स्याङ्जा क्षेत्र नम्बर १ मा मीनप्रसाद गुरुङ र क्षेत्र नम्बर २ मा खिमबहादुर थापाको नाम टुङ्गो लगाएको हो।

गुरुङ गण्डकी प्रदेशसभाका पूर्वसदस्य हुन्। 

नेकपा एमाले स्याङ्जाको अध्यक्षसमेत भइसकेका गुरुङले विभिन्न सामाजिक सङ्घसंस्थामा नेतृत्व लिएर काम गरिसकेका छन्। 

क्षेत्र नं २ का लागि उम्मेदवार छनोट भएका थापा कालीगण्डकी गाउँपालिकाको अध्यक्ष हुन्। 

विसं २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा थापा एमालेबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए।

हाल दोस्रो कार्यकालको लागि गाउँपालिकाको अध्यक्षका रूपमा बहाल रहँदारहँदै थापालाई पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यमा छनोट गरेको हो।

प्रतिनिधिसभा सदस्यमा छनोट भएसँगै गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर निर्वाचन केन्द्रीत गतिविधिमा सक्रिय हुने उनको तयारी छ।

थापा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको महासचिव र नेकपा एमालेको केही समयअघि सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा विजयी थिए।

स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी निर्वाचनका गतिविधि सञ्चालन भइरहेका छन्। जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

यसपटकको निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता छन्। विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका हुन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाका अनुसार पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक जना मतदाता छन्। 

दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३०  हजार ८८६ मतदाता रहेका छन्। स्याङ्जा क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन्। 

नेकपा एमालेबाहेक अन्य राजनीतिक दलले स्याङ्जामा आधिकारिक रूपमा उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ।

०७९ सालको निर्वाचनमा स्याङ्जा १ बाट नेपाली कांग्रेसका राजु थापा विजयी भएका थिए भने २ बाट कांग्रेसकै धनराज गुरुङ विजयी भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad