राजनीति


तेस्रोपटक पनि ओलीले टिकट नदिएपछि विष्णु रिजालले दुखाए मन

०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थालेका लक्ष्मीप्रसाद पोखरेललाई दिए ओलीले टिकट
तेस्रोपटक पनि ओलीले टिकट नदिएपछि विष्णु रिजालले दुखाए मन

नेपालखबर
माघ ४, २०८२ आइतबार १०:३९, काठमाडौँ

नेकपा एमालेका केन्द्रीय विष्णु रिजाजले पार्टीले टिकट नदिएपछि सार्वजनिक रुपमा दुखेसो पोखेका छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जिल्ला र प्रदेश कमिटीले पहिलो नम्बरमै आफूलाई उम्मेदवार सिफारिस गरे पनि अध्यक्ष केपी ओलीको रोजाइमा पर्न नसकेको भन्दै मन दुखाएका हुन्।  

एमालेले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टिकट वितरण गर्दा आन्तरिक प्रतिस्पर्धामा सर्वाधिक मत पाएका केही नेतालाई पाखा लगाउँदै अन्यलाई टिकट दिएको छ। 

उम्मेदवार सिफारिसका क्रममा भएको आन्तरिक मतदानमा सर्वाधिक मत पाएर पनि ओलीको रोजाइमा नपरेपछि रिजालले असन्तुष्टि जनाएका हुन्। 

रिजाल दैलेख २ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका आकांक्षी थिए। तर, शनिबार बसेको एमाले सचिवालय बैठकले दैलेख २ मा लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

दैलेख–२ मा क्षेत्रीय कमिटीले मतदानमार्फत् उम्मेदवार सिफारिस गरेको थियो।

प्रतिस्पर्धामा ६७ मत ल्याएर रिजाल पहिलो नम्बरमा सिफारिस भएका थिए। टिकट पाउने लक्ष्मीराज पोखरेलले ६६ मत प्राप्त गरेका थिए। 

रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस पटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा एमालेका कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिश भएको थिएँ। जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिश गरेका थिए। तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन।’

उनले आफू सात वर्षको हुँदा ०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थालेका अनुभवी लक्ष्मीप्रसाद पोखरेललाई फेरि टिकट दिएको भन्दै ओलीको व्यंग्य गरेका छन्। 

‘नेतृत्वले म सात बर्षको हुँदा ०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थाल्नुभएका अनुभवी लक्ष्मीप्रसाद पोखरेललाई फेरि टिकट दिएको छ। पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने लक्ष्मीजीको अद्भूत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन,’ रिजालले भनेका छन्।

आफू राजनीतिमा स्वेच्छाले लागेको र अब पनि दैलेखी जनता, देश र पार्टीलााई सकेको योगदान गर्नमा कुनै कसर बाँकी नराख्ने बताएका छन्। 

‘मैदानमै छु, मैदानमै हुनेछु,’ उनले लेखेका छन्, ‘२९ वर्षअघि ०५३ सालमा अखिलको जिल्ला अध्यक्ष भएयताको मात्रै अवधि गणना गर्दा पनि २९ वर्ष भएछ। कुनै पद पाइएन भने पनि अर्को २९ बर्ष कम्तीमा यही क्षेत्रमा रहनेछु।’ 

उनले आजका दिनसम्म आफू कहिल्यै फुट र विभाजनका पक्षमा नलागेको दाबी गरेका छन्।

‘विगतमा पार्टी विभाजनमा लागेर, उम्मेदवार बनेर धरौटी जफत भएर, एमालेलाई हराएर फेरि एमालेमै फर्किन बाध्य भएकाहरुले आफू मात्रै पार्टी बनाउन लागेको रुपमा प्रस्तुत गर्नु हास्यास्पद छ,’ रिजालले भनेका छन्, ‘लेखपढ गर्नु, पार्टीका पक्षमा पैरवी गर्नु, अझ पीएचडी गर्दै गर्नु, आफ्नो क्षमताले देश–विदेशका मञ्चहमा सहभागी हुनु, कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन। राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरुप्रति जति घृणा गरे पनि कमै हुन्छ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad