नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की स्वयं संलग्न रहेको आरोप लगाएका छन्।
शनिबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव बस्नेतले निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिनु कानूनविपरीत भएको दाबी गरे। उनले उक्त निर्णयलाई कांग्रेस र एमालेमाथिको योजनाबद्ध प्रहारका रूपमा एमालेले लिएको स्पष्ट पारे।
उनले भने, ‘एक घण्टाको अन्तरालमै सेटिङका आधारमा निर्वाचन आयोगले जुन निर्णय गर्यो, त्यो गलत हो। यसबारे शेरबहादुर देउवाजीहरूले उठाउनुभएको आपत्तिमा हाम्रो पनि पूर्ण समर्थन छ।’
सचिव बस्नेतले कांग्रेसको विभाजनलाई लोकतन्त्रमाथिको आक्रमणको संज्ञा दिँदै प्रधानमन्त्री कार्की अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर ठूला दललाई कमजोर बनाउने प्रयासमा लागेको आरोप लगाए।
उनले थपे, ‘कांग्रेस र एमालेजस्ता शक्तिशाली दललाई कमजोर बनाउने र रवि लामिछानेजस्ता व्यक्तिलाई बलियो बनाउने योजनामा प्रधानमन्त्री सुशीला कार्की र केही अन्तर्राष्ट्रिय शक्तिहरू लागेका छन्। यो अत्यन्त गम्भीर विषय हो र हामीले यसलाई गम्भीरतापूर्वक हेरेका छौँ।’
सचिव बस्नेतले सरकारको गतिविधि यस्तै ढंगले अगाडि बढे पार्टी सरकारविरुद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिए।
Shares

प्रतिक्रिया