निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसलाई आधिकारिक पार्टीको मान्यता दिएको भोलिपल्ट शनिबार बिहान कांग्रेस नेताहरू तीनतिर बाँडिएका छन्।
आधिकारिक कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठकको तयारी गरिरहँदा शेरबहादुर देउवा पक्षले सानेपामा छुट्टै बैठक आयोजना गरेको छ।

उता देउवा पक्षलाई नै समर्थन गरिरहेको नेता शेखर कोइराला पक्ष भने अहिले छुट्टै छलफलमा जुटेको छ।
शेखर पक्षका नेता बलबहादुर केसीले आफूहरू अहिले छलफल रहेको जानकारी नेपालखबरलाई दिए। यद्यपि उनले ठाउँ खुलाएनन्।
यसरी निर्वाचन आयोगको निर्णयपछि कांग्रेसका नेता तीनतिर देखिएका छन्।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सडक आन्दोलन गर्ने र अदालत गुहार्ने तयारीमा लागेका छन्।
यस क्रममा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा अहिले ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बैठक आयोजना गरिएको हो।
उता वैधानिकता प्राप्त गगन थापा नेतृत्वको कांग्रेसले पनि आजै बिहान साढे ११ बजे नयाँ बानेश्वरमा केन्द्रीय कार्यसमितिको बैठक राख्दै छ।

Shares

प्रतिक्रिया