नेपाली कांग्रेसको औपचारिक विभाजनपछि 'आधिकारिकता' हत्याउने होडबाजीले निर्वाचन आयोग रणमैदान जस्तै बनेको छ। शेरबहादुर देउवा र गगन थापा नेतृत्वका दुई अलग-अलग समूहबीच शक्ति प्रदर्शन र दाबी-विरोध चर्किएपछि आयोग परिसरको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।
आफ्नो पक्ष नै 'असली कांग्रेस' भएको दाबी गर्दै दुवै समूहका शीर्ष नेता र कार्यकर्ताहरूको दौडधुपले कान्तिपथस्थित आयोग कार्यालयमा तनावपूर्ण स्थिति सिर्जना भएको हो। सम्भावित झडपलाई मध्यनजर गर्दै प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने भिड नियन्त्रणका लागि मुख्यद्वारमै 'वाटर क्यानन' तैनाथ राखिएको छ।

बिहानैदेखि पालैपालो देउवा र गगन थापा नेतृत्वका कांग्रेसका नेता-कार्यकर्ताले आयोग पुगेर आधिकारिकताको दाबी प्रस्तुत गरेका थिए। उनीहरूले केहीबेर आयोग परिसरमा धर्नासमेत दिएका थिए। गगन पक्ष बाहिरिएलगत्तै शेरबहादुर देउवा पक्षीय कार्यकर्ताहरूले आयोग घेराउ गरेका हुन्।

सुरक्षाको कडा घेरा पार्टी फुटेपछि पहिलोपटक दुवै पक्ष आमनेसामने हुने स्थिति आएपछि गृह मन्त्रालयले सुरक्षा सर्तकता बढाउन निर्देशन दिएको छ। सोहीअनुसार आयोगको मुख्यद्वारदेखि भित्रसम्मै प्रहरीको बाक्लो उपस्थिति छ। आयोग पुग्ने दुवै पक्षका कार्यकर्ताहरूबीच 'नाराबाजी' र 'वाकयुद्ध' भएपछि स्थिति नियन्त्रण बाहिर जान नदिन सुरक्षाकर्मीलाई अलर्टमा राखिएको छ।
निर्वाचनको तयारीका लागि काम गरिरहेको आयोगलाई अहिले कांग्रेसको दुई चिराको विवाद सुल्झाउनु चुनौतीपूर्ण बनेको छ।
Shares

प्रतिक्रिया