राजनीति


राजीनामाअघि बालेन: महानगरमा सुरु सुधार अभ्यास राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आयो

राजीनामाअघि बालेन: महानगरमा सुरु सुधार अभ्यास राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आयो

नेपालखबर
माघ २, २०८२ शुक्रबार १०:१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयरसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले महानगरमा सुरु भएका सुधार र अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको बताएका छन्।

आगामी प्रतिनिधि सभा निर्वाचन जितेपछि रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने योजनामा रहेका बालेनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाको प्रमुखको जिम्मेवारी निर्वाहका क्रममा आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गरेका छन्। 

‘आज नागरिकको विश्वासका कारण काठमाडौँ महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा हामीले शब्दभन्दा कामलाई प्राथमिकता दिएका छौँ। स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने गरी काम गरियो’, उनले लेखेका छन्, ‘आम मानिसले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात महानगरबाट भएको छ। अब महानगरमा सुरु भएका यी सुधार र यसको अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ।’

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसका दिन बालेनले आफूले सिभिल इन्जिनियर भई देशका विभिन्न भागमा काम गरेको स्मरण गर्दै त्यसले देशको विकास कसरी गर्नुपर्छ भन्ने सिकाएको उल्लेख गरेका छन्। 

‘नेपालको विकास भन्नु सडक, भवन र ठूला–ठूला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो- उदार समाज निर्माण गर्नु हो’, उनले लेखेका छन्, ‘स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ- देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ। हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने हो।’

अब चाँडै मेयर पदबाट राजीनामा दिएर आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा बालेन पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लडिरहेको क्षेत्र झापा क्षेत्र नम्बर-५ मा उम्मेदवार बन्ने तयारीमा छन्। 

उनले आफू प्रधानमन्त्री बनेमा के गर्छु भन्ने कुरा पनि सुनाएका छन्। 

उनले लेखेका छन्, ‘नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ। संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्।शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्। यो अभियान कुनै एक व्यक्तिको होइन। यो सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो।सबैको साथ, सहयोग र विश्वाससहित अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ।’

यस्तो छ बालेनको पूरा स्टाटस-

२०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ।

काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ। आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ।

नेपालका विभिन्न भूगोलमा एउटा पेसाकर्मी इन्जिनियरको रूपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो-

नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन।

भौगोलिक भूबनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उकास्न यसका अनेक पाटोलाई सँगसँगै माथि उठाएर काम गर्नुपर्छ।

राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो र त्यसलाई जोड्न सक्ने सेतुको बलियो आधार निर्माण गर्नु हो।

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सामञ्जस्यता, जिम्मेवार नीति र इमानदार नेतृत्वको आवश्यकता छ। यही बुझाइका साथ म भारत गएँ र स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेँ। अध्ययनपछि सुविधा सम्पन्न देशमा बसेर काम गर्ने अवसर थियो, तर मैले देश फर्किने निर्णय गरेँ।

आज, नागरिकको विश्वासका कारण काठमाडौँ महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा हामीले शब्दभन्दा कामलाई प्राथमिकता दिएका छौँ। स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने गरी काम गरियो। आम मानिसले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात महानगरबाट भएको छ। अब महानगरमा सुरु भएका यी सुधार र यसको अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ।

नेपालको विकास भन्नु सडक, भवन र ठुलाठुला संरचना मात्र होइन। विकास भनेको सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु हो- उदार समाज निर्माण गर्नु हो।

संस्थागत विकास र समुन्नति कुनै कागजमा मात्र होइन, हरेक जनताले अनुभूत गर्न पाउने कुरा हो। यसको लागि आशाको सञ्चार मात्र नभई कटिबद्ध भएर इमानदारीपूर्वक देशलाई अघि बढाउनुपर्छ। हामी र हाम्रो पुस्ताको मात्र नभई भविष्यका पुस्तालाई सुरक्षित र आशालाग्दो देश हस्तान्तरण गर्ने नीति हो।

स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ-

देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ।

अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।

हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने हो।

नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ।

संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्।

शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्।

यो अभियान कुनै एक व्यक्तिको होइन।

यो सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो।

सबैको साथ, सहयोग र विश्वाससहित

अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad