नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालमा रेल ल्याएर सञ्चालन गरेको समेत बताएका छन्।
बिहीबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफूहरूले योजनामै सीमित नभई रेल ल्याएर सञ्चालनसमेत गरेको दाबी गरे। ‘हामीले रेलको कुरा मात्रै गरेनौँ, रेलको लिक बनायौँ, रेल बनायौँ र रेल ल्यायौँ,’ ओलीले भने।
जनकपुर-जयनगर रेल सेवा आफ्नो सरकारले सुरु गरेको उल्लेख गर्दै उनले थपे, ‘हामीले चलाएको रेल आफ्नै रेल हो, आफैँले ल्याएको। अहिले बिगारेर इन्डियन रेल चलाइएको देखिन्छ जनकपुरमा।’
ओलीले आफ्नै रेल बिगारेर थन्क्याइएको र त्यसको सट्टा भारतीय रेल सञ्चालन भइरहेको भन्दै प्रश्न उठाए। उनले भने, ‘खास कुरा त्यही थियो, हाम्रो रेल बिगारिदिए, उतैको रेल चल्यो।’
रेल सञ्चालनका लागि आवश्यक जनशक्तिको तालिममा समेत कमजोरी भएको ओलीले बताए।
‘चलाउने मान्छेलाई तालिम दिउ न भन्दाखेरि हाम्रो मन्त्रालयको बुद्धि पुग्दैन। रेल चलाउने मान्छेको तालिम मैले नै दिलाउन चाहेर पनि सकिनँ,’ उनले भने, ‘रेल चलाउने चाहिँ अन्तका खरिद गर्नुपर्यो।’
Shares

प्रतिक्रिया