टासी ल्हान्जोमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता भएको भन्ने खबर गलत भएको बताएकी छिन्।
‘मैले पीआर(समानुपातिक) सूचीबाट आफ्नो नाम फिर्ता लिएको छैन,’ उनले लेखेकी छिन्, ‘न त आफ्नो नाम हटाइने प्रक्रियामा मेरो कुनै संलग्नता थियो।’
उनले आफू तिब्बती नरहेको र त्यससँग कुनै साइनो पनि नरहेको बताएकी छिन्।
‘मैले पटक-पटक स्पष्ट पार्दै आएको छु कि म तिब्बती होइन,’ ल्हान्जोमले लेखेकी छिन्, ‘म कुनै पनि रूपमा “फ्रिडम तिब्बत” अभियानसँग सम्बन्धित छैन। मेरो तिब्बती प्रेमी पनि छैन।’
यसबारे नेपालखबरले रास्वपा प्रवक्ता मनीष झासँग जवाफ माग्दा उनले पार्टीका निकायबाट आफूलाई यसबारे आधिकारिक जानकारी नआएको बताए। यद्यपि, टासी आफैँले नाम फिर्ता लिएको आफूले सुनेको उल्लेख गरे।
‘निर्वाचन कार्यदलले मलाई आधिकारिक जानकारी केही पनि गराएको छैन, मैले अघि सचिवालयमा पनि यसबारे प्रश्न गरेको थिएँ,’ झाले भने, ‘तर, उहाँ आफैँले फिर्ता लिएको भन्ने पनि सुनेको छु। यसमा थप स्पष्ट हुन अझै बाँकी नै छ।’
उनको नाम यसअघि मन्त्रीका लागि पनि चर्चामा आएको थियो। तर, अन्तिम समयमा आएर प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बनाउने सूचीबाट उनको नाम हटाएकी थिइन्।
Shares

प्रतिक्रिया