‘विशेष महाधिवेशनको उद्देश्य नीति र नेतृत्वमा परिवर्तन निश्चय नै हो। केन्द्रीय समिति नै भङ्ग हुनेसम्म अवस्था पुगिसकेको छैन, तर तमाम महाधिवेशन पक्षधर प्रतिनिधिहरूले गरेको हस्ताक्षरलाई अवमूल्यन र अपव्याख्या भयो भने केन्द्रीय समिति नै भङ्गतर्फ स्थिति नजाला भन्न सकिँदैन,’ नेपाली कांग्रेसका १४ औँ महाधिवेशनका प्रतिनिधि पर्शुराम भट्टले नेपालखबर तत्कालैमा भने।
जेन–जी पुस्ताका भट्ट नेविसंघका केन्द्रीय सदस्य र नेपाली कांग्रेसका महाधिवेशनमा अपाङ्गता क्लस्टरबाट गोरखाका प्रतिनिधि हुन्।
उनी नेपाली कांग्रेसका प्रतिनिधिहरूले घच्घच्याएकै कारण महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वदायी भूमिकामा अगाडि बढेको बताउँछन्। नेपाली कांग्रेसको विधानको धारा १७ अनुसार विशेष महाधिवेशन वैधानिक रहेको भट्टको तर्क छ।
‘सभापति विशेष महाधिवेशनमा आउनुपर्ने थियो तर आउनुभएको छैन,’ उनी भन्छन्, ‘उहाँलाई घेरेर बस्ने नेताहरूलाई सोध्नुपर्छ, विशेष महाधिवेशनमा उहाँ किन आउनुभएन भनेर,’ भट्टले नेपालखबर तत्कालैमा भने।
नेपाली कांग्रेसको विधानको धारा १७ को उपधारा २ मा यदि कुनै कारण देखाएर ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष अधिवेशन आह्वान गरेमा बोलाइनुपर्छ भनेर स्पष्ट लेखिएको उनी बताउँछन्।

‘कि त केन्द्रीय समितिले बोलाउनुपर्छ विशेष अधिवेशन, कि त केन्द्रले बोलाउन मिल्ने विधान रहेको छ,’ भट्टले भने।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पहिलेदेखि नै कांग्रेसलाई कसरी सुधार गरेर लैजान सकिन्छ भनेर बारम्बार आवाज उठाइराखेको पर्शुरामले बताए। जेन–जी आन्दोलनपछि महामन्त्रीहरूे कांग्रेस आफै सच्चिएर आम नेपालीको भावनालाई समेट्नेगरी विशेष महाधिवेशनमा केन्द्रित भएको उनले बताए।
सोमबार महामन्त्रीहरूले पे िगरेको प्रतिवेदनमा समग्रमा राष्ट्रको विकास कसरी गर्ने, निराशामा रहेका जनताको भावनालाई कसरी सम्बोधन गर्ने, जेन–जीको मर्मलाई समेटेर कसरी लैजाने भनेर पनि स्पष्टसँग लेखिएको उनी बताउँछन्।
‘यी कुराले गर्दा पनि विशेष महाधिवेशन झन् विशेष हुन पुगेको छ,’ उनले भने।
जेन–जीलाई समेट्नका लागि कांग्रेसको भइराखेको विधानलाई परिमार्जन गरेर तीस वर्षभन्दा मुनिका २० जनालाई केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने तयारी भएको उनले बताए।
‘नेपाली कांग्रेस भनेको एउटा राष्ट्रियता, लोकतन्त्र, समाजवादको मूल उद्देश्य राखेर समाजमा स्थापित भएको सबैभन्दा पुरानो र नेतृत्वदायी भूमिका खेल्ने राजनीतिक संगठन हो। यसमा तमाम क्षेत्र, वर्ग, लिङ्ग, जातजाति, भाषा, धर्म सबै किसिमका व्यक्तिहरूको प्रतिनिधित्व छ। नेपाली कांग्रेसलाई विश्वास गर्ने सबै नेपाली मलाई बराबर लाग्छ। पछिल्लो समयको माग र आवश्यकता अनुसार युग, परिवेश, समय र आन्दोलनले खोजेको नेतृत्व भनेको गगन थापालाई सभापति बनाएर जान सकियो भने निश्चय नै हामी सफलतामा पुग्न सक्छौँ भन्ने मलाई लाग्छ,’ पर्शुरामले भने।

नेपाली कांग्रेस र नेपाललाई यहाँसम्म ल्याउनका लागि विद्यार्थी कालदेखि अग्रज नेताहरूले खर्चिएको समयलाई सम्मान गर्नुपर्ने र अग्रज नेताले अभिभावकीय भूमिका निर्वाह गर्दै युवालाई प्रोत्साहन गरेर अगाडि बढ्नुपर्ने उनी बताउँछन्।
उनी भन्छन्, ‘हाम्रा अग्रजहरू सल्लाहकारको रूपमा बस्ने, युवालाई अगाडि सारेर उनीहरूको योग्यता, क्षमता र परिकल्पना अनुसार समेटेर लैजान सकियो भने राम्रो हुन्छ।’
समयको माग, परिवेशले भनेको र सिर्जना भएको वातावरण अनुसार गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरूलाई नेतृत्व सुम्पिँदा नै पार्टी र आम नेपालीको भलाइ हुने पर्शुराम बताउँछन्।
उनी भन्छन्, ‘शेरबहादुर देउवाले जति गर्नुपर्ने हो धेरै गरिसक्नुभयो। उहाँ आफ्नो उत्तरार्धतिर हुनुहुन्छ। अब सभापतिज्यूले आराम गरेर अभिभावकीय भूमिका खेलेर, गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरूलाई नेतृत्वको रूपमा अगाडि सारेर जाँदा नै आम कांग्रेसी र नेपाली जनताको भलाइ हुनेछ।’
पार्टीको नेतृत्व पुस्तान्तरण भएर युवामा गइसकेपछि कम्तीमा जनतामा अहिले भइरहेको निराशा र आक्रोशलाई कम गर्दै नेपाली कांग्रेसभित्र गोलबद्ध गराउन सकिने भट्टले बताए।

विशेष महाधिवेशनमा सहभागी भएका सम्पूर्ण प्रतिनिधिहरूको धारणा पार्टी नफुटोस् भन्ने नै रहेको उनको भनाइ छ।
उनले देउवालाई अनुरोध गर्दै भने, ‘अझै पनि केही बिग्रिएको छैन, शेरबहादुर दाइ, तपाईं आएर विशेष अधिवेशनमा सम्बोधन गरेर युवालाई नेतृत्व हस्तान्तरण गर्नुभयो भने यो जस्तो सुनमा सुगन्ध केही हुन्थेन, पार्टी पनि मजबुत भएर जान्छ।’

प्रतिक्रिया