काठमाडौँको कोलाहलपूर्ण सडकदेखि सामाजिक सञ्जालका भित्तासम्म यतिबेला एउटै जिज्ञासाले डेरा जमाएको छ– बालेन शाह कहिले ओर्लिन्छन् महानगरको ‘मेयर’ कुर्सीबाट? कहिले टेक्छन् वनस्थलीस्थित ‘घन्टी घर’को दैलो? र, कहिले सुरु हुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ‘भावी प्रधानमन्त्री’को चुनावी उद्घोष?
धेरैका लागि अनुत्तरित रहेका यी प्रश्नको पर्दा अब खुल्ने भएको छ। नेपथ्यमा खिचिएको राजनीतिक खाका अनुसार बालेन शाह र रवि लामिछानेको संयुक्त राजनीतिक यात्राको प्रस्थानविन्दु कुनै पहाडी थुम्को वा काठमाडौँको गल्ली हुने छैन। बरु यसपटक यो यात्रा सुरु हुँदैछ, यतिबेला शीतलहरले कठ्याङ्ग्रिएको मधेसको त्यो भूमिबाट, जहाँ बालेन र रविको आगमनले राजनीतिक राप बढाउने पक्का छ।
बालेन शाहको कार्यशैली जति रहस्यमयी छ, उनको कदम उति नै सुनियोजित। रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिए पनि बालेनले अहिलेसम्म रास्वपाको कार्यालयमा पाइला टेकेका छैनन्। यसको एउटै कारण हो– पदीय मर्यादा। तर, यो प्रतीक्षा अब धेरै लामो हुने छैन।
रास्वपा स्रोतका अनुसार आगामी माघ ४ गते बालेनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट औपचारिक रूपमा राजीनामा दिने तयारी गरेका छन्। त्यही दिन उनी पहिलोपटक वनस्थलीस्थित ‘घन्टी घर’ प्रवेश गर्नेछन्। महानगरको साँचो बुझाएर देशको साँचो लिने बालेनको यो कदम नेपाली राजनीतिको एउटा ‘टर्निङ प्वइन्ट’ बन्ने विश्लेषण हुन थालेको छ।
०७९ को निर्वाचनमा मधेस प्रदेशमा रास्वपाको उपस्थिति लगभग शून्य जस्तै थियो। तर, यसपटक समीकरण बदलिएको छ। मधेसकै माटोमा जन्मेका र काठमाडौँको मुटु जितेका बालेन शाह अब रास्वपाका लागि मधेस छिर्ने बलियो ‘पासपोर्ट’ बनेका छन्।
प्रत्यक्षतर्फ ३२ सिट रहेको मधेस प्रदेशमा रास्वपाले यसपटक बहुमतभन्दा बढी सिट जित्ने आन्तरिक प्रक्षेपण गरेको छ। त्यही रणनीतिको पहिलो प्रयोगस्वरूप माघ ५ गते जनकपुरमा एक विशाल चुनावी सभाको आयोजना गरिँदैछ। उक्त सभामा बालेन र रविले पहिलोपटक एउटै मञ्चबाट संयुक्त रूपमा चुनावी बिगुल फुक्ने तयारी छ।
जनकपुर धनुषा–३ मा पर्छ, जहाँबाट रास्वपाका प्रवक्ता मनिष झा चुनावी मैदानमा उत्रँदैछन्। रोचक कुरा के छ भने पार्टीको ‘प्राइमरी’ निर्वाचनमा यो क्षेत्रबाट मनिषबाहेक कसैको उम्मेदवारी नपरेकाले उनी निर्विरोध उम्मेदवारका रूपमा मधेसको मोर्चा सम्हाल्दैछन्।
राजनीति एजेन्डाको लडाइँ मात्र होइन, यो अपनत्वको खोजी पनि हो। बालेन शाहले यसपटक मधेसलाई भावनात्मक रूपमा जोड्ने एउटा नयाँ हतियार प्रयोग गर्दैछन्। अहिलेसम्म सार्वजनिक रूपमा मैथिली नबोलेका बालेनले जनकपुरको मञ्चबाट पहिलोपटक मैथिली भाषामै सम्बोधन गर्ने तयारी छ।
त्यति मात्र होइन, बालेनको सचिवालय स्रोतका अनुसार उनी जनकपुरको सभामा परम्परागत मधेसी पहिरनमै देखिने सम्भावना छ। सुट–प्यान्ट र कालो चस्माको ‘सिग्नेचर लुक’ भन्दा बाहिर निस्केर उनी मधेसी माटोको सुगन्ध बोकेको पोसाकमा देखिँदा त्यसले मधेसमा राम्रो लहर ल्याउने रास्वपाका स्थानीय नेताहरूले उनलाई सुझाव दिएका छन्।
बालेनको योजना मधेसमा मात्र सीमित छैन। उनले देशका विभिन्न भूभागमा पुग्दा त्यहाँको संस्कार र समुदाय झल्कने पहिरन लगाउने गरी दर्जनौँ पोसाकहरू तयार पार्न लगाइसकेका छन्। उनी चाहन्छन्– जब उनी मञ्चमा उभिन्छन्, जनताले उनमा आफ्नै प्रतिबिम्ब देखून्।
‘माघ ५ को त्यो सूर्योदयले नेपाली राजनीतिमा एउटा नयाँ भाष्य लेख्नेछ,’ रास्वपाका एक नेताल भने, ‘मधेसमा यतिबेला बाक्लो कुहिरो र शीतलहरको राज छ। तर त्यसदिन जनकपुरको भूमिमा एउटा यस्तो राजनीतिक ‘घाम’ लाग्दैछ, जसले वर्षौंदेखिको राजनीतिक ठिहीलाई एकै झट्कामा पगाल्ने दाउ राखेको छ।’
बालेन–रवि दुवैले यो यात्राबारे औपचारिक रुपमा बोलेका छैनन्। पार्टी पंक्तिलाई पनि औपचारिक जानकारी नभएसम्म यसबारे केही सूचना सार्वजनिक नगर्न निर्देशन छ।
के बालेनले मधेसमा ‘अनपेक्षित’ लहर ल्याउन सक्लान्? के जनकपुरको त्यो सभाले सिंहदरबारको जग हल्लाउला? माघको सिरोटोसँगै मधेसबाट सुरु हुने यो ‘घण्टी’को गुञ्जनले उत्तरका हिमालसम्म कस्तो कम्पन ल्याउँछ, त्यो हेर्न अब धेरै दिन पर्खनु पर्ने छैन।
यति चाहिँ भन्न सकिन्छ– बालेन अब केवल काठमाडौँको बालेन रहेनन्, उनी मधेसको धोतीदेखि हिमालको बख्खुसम्म अटाउने ‘राष्ट्रिय स्वरूप’ बन्ने दौडमा निस्किएका छन्।
Shares

प्रतिक्रिया