नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र देखिएका सबै मतभेद संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्। विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरे।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाउन आग्रह गर्दा पनि नेतृत्वले बेवास्ता गरेकै कारण वर्तमान अवस्था सिर्जना भएको उनको भनाइ छ। उनले संस्थापन पक्षलाई त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्न आग्रह गर्दै सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरणका लागि तयार रहन आह्वान गरे।
डा. शर्माले विशेष महाधिवेशन पक्षधरलाई पनि पार्टी एकता र आम कार्यकर्ताको हितलाई प्राथमिकतामा राख्न आग्रह गरे।
उनले भने, ‘नेपाली कांग्रेस गम्भीर संकटको मोडमा छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दा पनि कार्यकर्ताको भावनालाई बेवास्ता गरिएकै कारण आजको अवस्था आएको हो। पार्टी र भावी पुस्ताको भविष्य सोचेर संस्थापन पक्षले त्याग र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्छ। पार्टीभित्रका सबै मतभेद संवादबाट टुंग्याइनुपर्छ।’
एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने गतिविधि अस्वीकार्य रहेको उल्लेख गर्दै उनले विवाद समाधानका लागि बनेको वार्ता समितिलाई मंगलबार बेलुकासम्म निष्कर्षमा पुग्न आग्रह गरे।
Shares

प्रतिक्रिया