काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट उम्मेदवार बन्ने लगभग निश्चित भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी झापाका नेताहरूलाई काठमाडौँमा बोलाएर मेयर शाहले झापाबाट आफू उम्मेदवार हुने बारेमा स्पष्ट धारणा राखेका हुन्। रास्वपा झापाका सचिव शम्भु सुस्केरा ढकालका अनुसार, बालेनले आफू झापा-५ बाट उम्मेदवार बन्ने भएकोले त्यहाँको अवस्थाको बारेमा विस्तृत विवरण लिएका थिए।
झापाबाट उम्मेदवार बन्दा प्रतिपक्षीलाई कसरी कमजोर बनाउने र त्यहाँको सांगठनिक अवस्था, चुनावी रणनीति र विपक्षीको मनोबल कमजोर बनाउने विषयमा केन्द्रित भएर छलफल भएको रास्वपा झापाले जनाएको छ। झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्दै आएको क्षेत्र हो।
आइतबार काठमाडौँमा झापाबाट पुगेका नेताहरू र बालेनबीच करिब डेढ घण्टा लामो छलफल भएको थियो। झापाबाट बोलाइएका पदाधिकारीहरू पार्टी कार्यालय समेत नगई सिधै बालेनसँगको छलफलमा जुटेका थिए।
छलफलमा झापाको संगठनात्मक सबल-दुर्बल पक्ष, चुनावी परिचालन र अभियान कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित भएको थियो। स्रोत भन्छ, ‘बालेनले आन्तरिक रूपमा सचिवालयका कर्मचारीहरू (संयन्त्र) प्रयोग गरेर झापाको राजनीतिक अवस्था पहिलेदेखि नै अध्ययन गरिरहेका थिए। थप स्पष्ट हुन रास्वपा पदाधिकारीहरूलाई बोलाएका थिए।’
आफ्नो सचिवालयको रिपोर्टिङ र रास्वपा झापाका पदाधिकारीहरूको बीचमा भएको छलफल पछि बालेनले झापा–५ बाटै चुनाव लड्ने निष्कर्षमा पुगेको नेताहरूले बताएका छन्। बालेनले माघ ६ गते झापामा र्यालीसहित उम्मेदवारी दर्ता गर्ने तयारी गर्ने निष्कर्षसहित आइतबारको बैठक सकिएको थियो।
त्यसअघि माघ ४ गते काठमाडौँको मेयरबाट राजीनामा दिएर बालेन रास्वपाको पार्टी कार्यालय जाने भएका छन्। त्यसपछि भोलिपल्ट माघ ५ गते जनकपुरमा पहिलोपटक रवि र बालेन संयुक्त रुपमा सार्वजनिक हुने र चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
जनकपुर धनुषा निर्वाचन क्षेत्र नं. ३ मा पर्छ। यो क्षेत्रबाट रास्वपाका प्रवक्ता मनिष झा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि एकल सिफारिसमा परेका थिए। रास्वपाको प्राइमरी निर्वाचनमा पनि उनी उम्मेदवार सिफारिस भएका छन्।
चुनावी कार्यालयको लागि नयाँ घर खोज्दै
बालेन शाहले झापाबाट चुनाव लड्ने निश्चित भएपछि निर्वाचन क्षेत्रमा कार्यालयका लागि घर खोज्न थालिएको छ। झापा क्षेत्र नम्बर ५ मा चुनावी कार्यालय र बसोबास व्यवस्थापनको लागि घर खोज्ने काम सुरु भएको झापाले जनाएको छ।
अहिलेसम्म दमकमा रहेको क्याम्पस मोड आसपास तथा गोर्खा किचन क्षेत्र नजिक कार्यालय सञ्चालनका लागि केही घर निःशुल्क उपलब्ध गराउने प्रस्तावसमेत आएको रास्वपाले जनाएको छ।
रास्वपा झापाका अध्यक्ष प्रकाश पाठकले अहिले दमकमा निर्वाचन गतिविधि गर्नका लागि घरहरू खोज्ने काम भइरहेको पुष्टि गरे। बालेनको टिम र स्थानीय रास्वपाका नेताहरूले स्थल निरीक्षण गरी अहिले हेरेको २ वटा मध्ये एउटा घरलाई प्रयोग गर्ने गरी चाँडै निर्णय लिने उनले जानकारी दिए।
‘रास्वपाका झापाका पदाधिकारीहरू सहितको टोलीसँग भएको छलफल पछि त्यहाँ केही घरहरू हेर्न भनिएको छ,’ उनले भने, ‘अहिले हाम्रा साथीहरूले घरहरू हेरिसक्नु भएको छ, त्यसैमा बस्ने की अरू नै घर हेर्ने भन्ने बारेमा छलफल पछि निष्कर्षमा पुग्नेछौँ।’
‘अहिले हेरिएका घरहरू मध्ये दमक क्याम्पस रोडमा रहेको घरबाट नै कार्यालय सञ्चालन गर्ने की भन्नेसम्मको छलफल भए पनि टुङ्गो लागिसकेको छैन, पाठकले थपे।
झापाबाट उम्मेदवार हुने, अरू जिल्लामा गतिविधि गर्ने
झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने बालेनले गतिविधिलाई अन्य जिल्लामा पनि बढाउने गरी तयारी थालेका छन्। बालेन उम्मेदवार झापाबाट भए पनि राजनीतिक अभियान झापामै सीमित नरहने बताइएको छ। उनको उपस्थितिलाई कोसी प्रदेशभर उपयोग गर्ने रणनीति रास्वपाले बनाउने तयारी गरेको छ।
झापा, मोरङ, सुनसरी, इलामलगायतका जिल्लामा सक्रिय कार्यक्रम र जनसम्पर्क बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ। रास्वपाको वरिष्ठ नेतामा मनोनीत भएका बालेनले अहिलेसम्म रास्वपाको दलको नेताको रूपमा शपथ नै नगरेकोले शपथ लगत्तै बालेन अभियानमा लाग्ने दाबी रास्वपा नेताहरूको छ।
४ गते पदबाट राजीनामा दिए लगत्तै रास्वपा दलको शपथ लिएर ६ गते उम्मेदवारी दर्ता गर्नको लागि आउने सन्देश झापाका रास्वपा नेताहरूले पाएका छन्। अहिले झापा रास्वपा बालेन उम्मेदवार बनेर आउने भएपछि उत्साहित देखिएका छन्।
Shares

प्रतिक्रिया