राजनीति


महाराजगञ्ज छलफलमा देउवाले भने- पार्टी विभाजन हुने हो कि भन्ने डर लागेको छ

महाराजगञ्ज छलफलमा देउवाले भने- पार्टी विभाजन हुने हो कि भन्ने डर लागेको छ

नेपालखबर
पुस २८, २०८२ सोमबार १९:०, काठमाडौँ

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विभाजनमा जाने हो कि भन्ने डर लागेको सुनाएका छन्। 

सभापति देउवाले सोमबार दिनभर कांग्रेस नेताहरूसँग छलफल गरेका थिए। संस्थापन पक्षका नेताहरूसँगको छलफलमा देउवाले पार्टी विभाजनको डर लागेको सुनाएका हुन्। 

‘पार्टीमा जटिल अवस्था आएको छ। पार्टी विभाजनको घडीमा पुग्ने हो कि भन्ने मलाई डर लागेको छ,’ देउवाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी कांग्रेस नेता नैनसिंह महरले भने।

कांग्रेसमा यो अवस्था आउनुमा धेरै हात रहेको हुन सक्ने पनि देउवाले आशंका गरेका छन्। देउवाको भनाइ उद्धृत गर्दै महरले भने, ‘यसमा धेरैको हात हुनसक्छ। तैपनि पार्टीलाई मिलाउनका लागि अझै पनि म लाग्छु, मेरो कोसिस रहन्छ। साथीहरू संयम भएर पार्टीको एकता कायम गर्नका लागि लाग्नुहोला भन्ने भन्नु भएको छ।’

यसका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न सभापति देउवा तयार भएका छन्। छलफलमा सहभागी नेताले पनि महामन्त्रीहरूसँग संवाद गर्न सुझाव दिएको महरले बताए। ‘पार्टी फुटको संघारमा अघि बढको छ, यसलाई कति हदसम्म लचिलो भएर मिलाउन सकिन्छ भन्ने विषयमा कुराकानी भएको छ।’

कांग्रेसमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको उनले सुनाए। कतिपय दुई पक्षीय र त्रिपक्षीय छलफलमा आफू पनि सहभागी भएको बताउँदै महरले भने, ‘बन्दसत्रमा महामन्त्रजीहरूतर्फबाट केही प्रस्ताव आएका छन्, त्यसले थोरै खलबलिए जस्तो भएको छ। तैपनि मिलाउन सकिन्छ भन्ने आशा छ।’

कांग्रेसलाई मिलाउनका लागि अन्तिम प्रयास भइरहेको उनले बताए। यसमा सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर  खड्का लगायत नेता संवाद गरिरहेको उनको भनाइ थियो। 

‘कोही पनि पार्टी फुटोस भन्ने पक्षमा छैनन, तर मिलाउने आधारमा कोही पनि तयार भइरहेका छैनन्। मिलाउने आधार खोज्नका लागि केही कुराकानी हुँदै छ,’ महरले भने, ‘धेरै हदसम्म चाहीँ आफ्नो आफ्नो पोजिसन लिएका कारणले वातावरण बिग्रिएको छ, बिग्रिएको वातावरणलाई पनि सुधार्न सकिन्छ कि भन्ने अन्तिम प्रयास भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad