राजनीति


देउवाले आजै गगन-विश्वसँग छलफल गर्ने

देउवाले आजै गगन-विश्वसँग छलफल गर्ने

नेपालखबर
पुस २८, २०८२ सोमबार १७:५९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग आज छलफल गर्ने भएका छन्। विशेष महाधिवेशनका कारण पार्टी विभाजनको मुखमा पुगेपछि त्यसलाई बचाउँन भन्दै देउवा आफै संवाद गर्ने भएका हुन्। 

यसअघि उनले विशेष महाधिवशेन पक्षसँग छलफल कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई अगाडि सारेका थिए। तर, सहमति नजुटेपछि र विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि बढेपछि देउवा आफै सक्रिय भएका हुन्। 
सोमबार उनले आफू पक्षीय नेताहरू र डा. शेखर कोइराला पक्षका नेताहरूसँग छलफल गरेका छन्। उनले कानून व्यवसायीलाई समेत निवासमा बोलाएर राय लिएका छन्। 

देउवालाई भेटेर फर्किएका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापतिले आजै महामन्त्रीद्वयसँग छलफल गर्ने र सकारात्मक निष्कर्ष निस्कने दाबी गरे। छलफलपछि विश्वकर्माले भने, ‘सभापतिले आकस्मिक र विश्वासिलो ढंगबाट महामन्त्रीहरूसँग संवाद गर्ने, संवादको सकारात्मक निर्णय निकाल्ने निष्कर्ष निस्केको छ। सभापतिजीले आजै संवाद गर्नुहुन्छ, चाँडै हुन्छ।’

संवाद गर्ने विषयमा दुवै महामन्त्रीलाई जानकारी पनि दिइसकेको उनले बताए। यसमा दुवै महामन्त्री पनि सकारात्मक रहेको उनको भनाइ थियो। ‘सभापतिजीले संवाद गर्ने सन्देश गइसकेको छ। संवादका लागि महामन्त्रीहरू पनि सकारात्मक हुनुहुन्छ,’ विश्वकर्माले भने।

विशेष महाधिवेशनका लागि अघि बढेको प्रक्रियालाई विधि सम्मत ढंगले टुंग्याउने छलफल हुने उनले बताए। ‘उहाँहरू (गगन–विश्व) पनि पार्टी विभाजन गर्ने मनसायमा हुनुहुन्न। जेजे प्रक्रिया अघि बढेको छ, त्यसलाई विधि सम्मत ढंगले टुंग्याउने प्रक्रियामा छलफल हुन्छ,’ उनले भने। 

यस्तै, सहमतिका लागि दुवै पक्षसँग छलफल गरिरहेका नेता रमेश लेखकले पनि पार्टी विभाजन नहुने र सहमतिमै सबै कुरा टुंगिने बताए। उनले भने, ‘महामन्त्रीज्यूहरूसँग हामीले आज दिनभर पनि पटकपटक कुरा गरिरहेका छौँ, छलफल जारी छ। सबै कुरा सहमतिमै टुंगिन्छ। विभाजन हुन दिँदैनौँ।’

सभापति देउवा महाधिवेशन स्थलमै जान्छन् भन्ने प्रश्नमा कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘सभापतिजी जाँदा प्रमुख अतिथि भएर जाने हो, उहाँले कार्यवाहक दिइसक्नु भएको छ। हिजोको कार्यक्रममा प्रमुख अतिथि भएर नभएकाले त्यो च्याप्टर बन्द भइसक्यो।’

देउवा निवासमा भएको छलफलमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्य सहभागी थिए। सबैले सभापति देउवालाई महामन्त्रीद्वय थापा र शर्मासँग संवाद गर्न सुझाव दिएका थिए। ‘हामी सबैले एक स्वरमा पार्टीलाई एकढिक्का राख्नका लागि सभापति र कार्यवाहक सभापतिलाई महामन्त्रीहरूसँग संवादका लागि अनुरोध ग¥यौँ। उहाँले सुन्नुभयो र संवाद गर्न तयार हुनुभयो।’

महामन्त्रीद्वय थापा र शर्माले बोलाएको विशेष महाधिवेशनलाई कसरी सुरक्षित ढंगले टुंग्याउने भन्ने विषयमा पछि छलफल भएको विश्वकर्माले बताए। ‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको भए पनि सोही मितिमा नियमति महाधिवेशनका केही कार्यक्रमहरू अगाडि पनि बढिसकेको र सात–आठ वटा देशमा जनसम्पर्क समितिको अधिवेशन भइसकेको र नेपालभित्र पनि केही वडाहरू सर्वसम्मत भइसकेको परिप्रेक्षमा विशेष महाधिवेशन गरेर अमझजारी कायम गर्नुभन्दा यसरी बोलाएको विशेष महाधिवेशनलाई पनि कसरी सुरक्षित ढंगले अगाडि बढाउने सकिन्छ भनेर छलफल भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad