नेपाली कांग्रेसको संस्थापन पक्षले इन्कार गरेको विशेष महाधिवेसनमा करिब ५० प्रतिशत महाधिवेसन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्। यो क्रम अझै चलिरहेको छ।
सभापति शेरबहादुर देउवा र देउवासँग सभापति लडेका शेखर कोइराला पनि विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गर्दै बोलाएको विशेष महाधिवेशनमा अन्य शीर्ष नेताहरूले बहिस्कार गरेपनि त्यही समूहका कतिपय केन्द्रीय नेताहरू नै सहभागी भएका छन्।
पूर्व उपसभापति गोपालमान श्रेष्ठ, गएको महाधिवेशनका उपसभापतिका प्रत्यासी चन्द्र भण्डारी, महेश आचार्य, नरहरि आचार्य, केन्द्रीय नेताहरू विनोदकुमार चौधरी, सुनील शर्मा, उदय शमशेर जबरा, डिला संग्रौला, पुष्पा भुसाल, राजेन्द्र कुमार केसीसहित कोसी प्रदेशमा विद्रोह गरेर मुख्यमन्त्री बनेका शेखर समूहको नेताका रुपमा चिनिएका केदार कार्की विशेष महाधिवेशनको उद्घाटन समारोहमा पुगेका छन्।
यस्तै तारानाथ रानाभाट, ओमकार प्रसाद श्रेष्ठ, डा. सुरेन्द्र चौधरी, भरत शाह, अर्जुन जोशी, चिनकाजी श्रेष्ठ पनि भृकुटिमण्डपमा सहभागी छन्।
यसअघि जिल्ला जिल्लाबाट विशेष महाधिवेशनमा आउन संस्थापन पक्षले रोक लगाउँदै आएको थियो। तर देउवा समूहले रोक लगाएपनि उनकै समूहका नेताहरू महाधिवेशनमा सहभागी भएका हुन्।
विशेष महाधिवेशनमा सहभागी केदार कार्कीले यसअघि जुन समूहमा रहेपनि आफू अहिले विशेष महाधिवेशनका पक्षमा रहेको र अब नेतृत्व परिवर्तन नगरि प्रतिनिधि सभाको निर्वाचनमा जान नसकिने बताए।
कांग्रेस नेतृ पुष्पा भुसालले संस्थापन पक्षका ३० जना केन्द्रीय सदस्य विशेष महाधिवेशनमा सहभागी भएको जानकारी दिइन्।
Shares

प्रतिक्रिया