सुरक्षा निकायहरूले २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सुरक्षा निकायका प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्।
राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट निर्वाचनलक्षित एकीकृत सुरक्षा योजना पारित भइसकेको उल्लेख गर्दै उनीहरुको सोही योजनाअनुसार आपसि समन्वय र सहकार्यमार्फत अघि बढिरहेको जानकारी गराए।
नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमा निर्वाचन गर्नु मुलुकको अपरिहार्य आवश्यकता रहेको भन्दै त्यसका लागि नेपाली सेना तयार रहेको बताए। उनले निर्वाचनको क्रममा हुनसक्ने सुरक्षा खतराहरुको विश्लेषण गरी आवश्यक गृहकार्य भइरहेके समेत उल्लेख गरे।
उनले निर्वाचनअगाडि सुरक्षा चुनौती हुनसक्ने वर्गलाई आवश्यक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने बताए। उनले विगतका अधिकांश बारुदी सुरुङ तथा विस्फोटक पदार्थहरु नष्ट भइसकेको भन्दै कँहीकतै फेला परेमा सूचना आदानप्रदानका आधारमा बम डिस्पोजल टोली परिचालन गरिने बताए।
उनले भने, ‘विगतका बारुदी सुरुङ विस्फोटक पदार्थहरु नष्ट भइसकेका छन्। यदि कहीँकतै भेटिएको अवस्थामा सूचना आदानप्रदान पनि गर्नुपर्छ। हामी देशभर गएर खोज्ने कुरा हुँदैन तर यदी यो क्षेत्रमा छ भनेर सूचना पायौँ भने हामी अगाडि बढ्न सक्छौँ। अगामी निर्वाचनको लागि हाम्रो बम डिस्पोजल टिमहरु देशभरी नै छ। निर्वाचनलाई लक्षित गरेर सानो सानो टुकडीमा संवदेशीलताको आधारमा वर्गीकरण गरेर परिचालन पनि गरेका छौँ। हामी निर्वाचनको लागि तयार छौँ।’
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)उमाप्रसाद चतुरर्वेदीले विस्फोटक पदार्थ भेटिनुभन्दा पनि नयाँ बम बनाउने मानसिकता झनै खतरनाक रहेको टिप्पणी गरे। उनले पेट्रोल बम तथा केमिकल प्रयोग गरी आन्दोलनलाई हिंसात्मक बनाउने प्रवृत्ति राष्ट्रिय सुरक्षाका लागि गम्भीर चुनौती रहेको बताए।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दूरीका गस्तीहरू निरन्तर सञ्चालन भइरहेको जानकारी दिए। उनले आपराधिक गतिविधि नियन्त्रण र फरार कैदीबन्दी खोजीका लागि समिति नै गठन गरी काम भइरहेको बैठकसमक्ष जानकारी समेत गराए।
उनले भने, ‘२१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित ढंगले सम्पन्न गर्नको तीनवटै सुरक्षा निकायले भरपर्दो समन्वय गरेर जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दुरीको गस्तिहरु हामीले निरन्तर परिचालन गरेको अवस्था छ। अपराधिक गतिविधिहरु सल्बलाउन नदिने र भागेका कैदीबन्दीहरुलाई समिति नै गठन गरेर खोजतलास गरिरहेको अवस्था छ।’
सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले तीनवटै सुरक्षा निकाय एकीकृत सुरक्षा योजनाको कार्यान्वयनमा सक्रिय रहेको भन्दै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गरिने बताए।
उनले निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी थप गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी गराए।
उनले भने, ‘तीन वटै सुरक्षा निकायहरु एकीकृत सुरक्षा योजनाको कार्यान्वयनमा लागेका छौँ। हाम्रो शक्तिले नभ्याउने चिजलाई निर्वाचन प्रहरीमार्फत पनि गराउने भनेर हिजोदेखि नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी थप्ने भनेर आजदेखि प्रक्रिया शुरु भएको छ। उनहरुको समेत सहयोगमा योजनाअनुसार हामी परिचालित हुन्छौँ।’
सुरक्षा निकायका प्रतिनिधिहरुले आपसी समन्वय, अतिरिक्त जनशक्ति र लक्षित सुरक्षा रणनीतिमार्फत निर्वाचनलाई शान्तिपूर्ण र विश्वसनीय रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया