राजनीति


निर्वाचन प्रहरीको म्याद थपिन पनि सक्ने, चुनाव स्थगित भए नियुक्ति स्वतः रद्द हुने

निर्वाचन प्रहरीको म्याद थपिन पनि सक्ने, चुनाव स्थगित भए नियुक्ति स्वतः रद्द हुने

नेपालखबर
पुस २४, २०८२ बिहिबार २०:४५, काठमाडौँ

फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाको प्रक्रिया सुरु भएको छ। देशभरका जिल्ला प्रहरी कार्यालयहरुले आफ्नो जिल्लाको कोटा अनुसार सूचना जारी गर्दै आवेदन माग गरेका छन्। 

यसअघि प्रहरी प्रधान कार्यालयले आफ्नो कोटाका एक लाख ३३ हजार ९ सय ८० जनाको लागि मात्रै आवेदन माग गरेको भएपनि जिल्लाले भने सशस्त्र प्रहरीको कोटा १५ हजार ११० जना पनि थप गरेर सूचना जारी गरेका छन्। 

आफ्नो कोटाका निर्वाचन प्रहरी कसरी भर्ना लिने भन्दै सशस्त्र प्रहरीको टोली बिहीबार दिउँसो गृह मन्त्रालयमा पुगेको थियो। त्यसपछि जिल्लाबाट सूचना जारी गर्दा सशस्त्र प्रहरीले लिनेको पनि कोटा थप गरेर सूचना जारी गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो।

गृहको निर्देशनपछि साँझ सबै जिल्लाले नेपाल प्रहरीले लिने कोटा र सशस्त्र प्रहरीले लिने कोटा नै उल्लेख गरेर आवेदन माग गरेका छन्। 
आवेदन माग गर्दा छुट्टा छुट्टै कोटा उल्लेख भए पनि भर्ना प्रक्रिया भने संयुक्त रुपमै हुने भएको छ।

छनोटको सबै प्रक्रिया टुंगिसकेपछि मात्रै नेपाल प्रहरी मातहत रहने र सशस्त्र प्रहरी मातहत जानेको टुंगो लाग्नेछ। त्यसपछि दुवै प्रहरीले आफू मातहत परिचालन हुने टोलीलाई छुट्टाछुट्टै रुपमा १० दिन तालिम दिनेछन्। 

तालिम सकिएपछि एक महिनासम्म निर्वाचन प्रहरी खटाउने भनिएको छ। तर आवेदन माग गरिएकै सूचनामा निर्वाचन प्रहरीको म्याद थप हुन पनि सक्ने र बिचमै नियुक्ती बदर हुन सक्ने पनि उल्लेख छ।

सूचनामा भनिएको छ, ‘नियुक्ती पाएको मितिले जम्मा ४० दिन (तालिमसमेत)वा नेपाल सरकारले तोके बमोजिम हुनेछ।’

तर सूचनाको अर्को बुँदामा नेपाल सरकारले निर्वाचन अवधिको आधारमा निर्वाचन प्रहरीको कार्य अवधि हेरफेर गरेमा सोही बमोजिम हुने भनिएको छ।

नियुक्तिको प्रक्रियामा रहेको अवस्थामा वा नियुक्ति भइसकेको भए तापनि निर्वाचन स्थगित वा रद्द भएका त्यस्तो नियुक्ति स्वतः रद्द हुने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ। 

कुनै मनासिव कारणले निर्वाचन प्रहरीले करार अवधि भन्दा अगाडी छाड्ने परिस्थिति भएमा २० दिन वा सोभन्दा बढि दिन काम गरेको भएमा काम गरेको दिनसम्मको सेवा सुविधा पाउनेछन्। 

तर निर्वाचन हुनु पहिले नै गैरहाजिर भएमा, जिम्मेवारी पूरा नगरी भागेमा भने कुनै सुविधा पाउने छैनन्। 

निर्वाचन प्रहरीले नेपाल प्रहरीका जवान सहर दैनिक ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको ३४ हजार ७७६ रुपैयाँ तलब पाउनेछन्।

नेपाल प्रहरीले पाउने जतिनै भत्ता, आउन जान भन्दै ८४६ रुपैयाँ, चार दिनको १ एक हजार २ सय रुपैयाँ खाजा भत्ता र पोशाक बापतको रकम पाउने छन्। सम्पूर्ण रकम बैंक खातामा उपलब्ध गराइने छ।  

निर्वाचनमा खटिँदा घाइते भएमा वा मृत्यु भएमा सरकारले तोके अनुसार क्षतिपूर्ति पनि उपलब्ध गराउने भएको छ। 

निर्वाचन प्रहरीमा भर्ना हुन शुक्रबारदेखि ५ दिन देशभरका जिल्ला प्रहरीमा आवेदन दिन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad