राजनीति


बुद्धनगरमा बालेन टिमबाट विभाजित पक्षको भेला, मुकुल ढकालदेखि रविका दाइ हरिशरणसम्म सहभागी

बुद्धनगरमा बालेन टिमबाट विभाजित पक्षको भेला, मुकुल ढकालदेखि रविका दाइ हरिशरणसम्म सहभागी

बुद्धनगरमा बिहीबार आयोजित बालेन टिमका असन्तुष्टहरूको भेलामा बोल्दै हरिशरण लामिछाने र भेला।


नेपालखबर
पुस २४, २०८२ बिहिबार १३:३५, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) टिमबाट विभाजित समूहले अहिले काठमाडौँको बुद्धनगरमा भेला आयोजना गरिरहेको छ।

भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित नेता मुकुल ढकालदेखि रास्वपा सभापति रवि लामिछानेका दाइ हरिशरण लामिछानेसम्म सहभागी छन्। 

लौरो अभियानका कार्यवाहक संयोजक विनोद बजगाईंले नेपालखबरसँग भने, ‘भेलामा स्वतन्त्र उम्मेदवार, मुकुल ढकाल, हरिशरण लामिछानेलगायत धेरै जना साथी सहभागी हुनुहुन्छ।’

बुद्धनगरमा बिहीबार जारी लौरो अभियानको भेलामा मुकुल ढकाल।

भेला बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा भइरहेको हो।

भेलापछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरिने बजगाईंले जानकारी दिए।

बालेनले रास्वपासँग एकता गरेपछि उनलाई स्थानीय चुनावदेखि साथ दिइरहेका केही व्यक्ति असन्तुष्ट भएका हुन्।

जसमा लौरो तथा स्वतन्त्र अभियान चलाइरहेका व्यक्ति र केही जेनजी युवासमेत संलग्न छन्। 

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने सर्तसहित बालेन यही पुस १३ गते रास्वपामा समाहित भएपछि उनीहरू रुष्ट भएका हुन्। 

बालेनलाई प्रतिनिधि सभा चुनाव लडाउनकै लागि भनेर २०८० सालतिरै लौरो चुनाव चिह्न लिएर हाम्रो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको थियो।

अनन्तराज घिमिरे र रोहन कार्कीलगायतको नेतृत्वमा गठित त्यो पार्टीको नाम पछि परिवर्तन गरेर देश विकास पार्टी राखिएको थियो।

यसअघि रास्वपासँग कुरा नमिल्दा बालेनले देश विकास पार्टीको नेतृत्व गर्ने घोषणा गर्दै जेनजीसहित पुराना र नयाँ सबै दलका नेतासँग पुस पहिलो साता लगातार भेटवार्ता गरेका थिए। 

तर रास्वपा सभापति रवि लामिछानेसँग दुई चरण लामो वार्तापश्चात् अन्तत: उनले पुस १३ बिहानै एकता समझदारी पत्रमा हस्ताक्षर गरेका थिए- देश विकास पार्टीलाई अलपत्र छाडेर।

अहिले त्यही समूहका व्यक्तिहरू लौरो चिह्न माग्दै विरोधमा उत्रिएका हुन्। जसको नेतृत्व विनोद बजगाईँ, डम्बर शाहु र हरि कार्कीले गरेका छन्।

लौरो चिह्नबाट बालेन शाहलाई मेयर जिताएको सो समूहले रास्वपासँग भएको एकता पनि नमान्ने भएको बताएको छ। 

उनीहरूले यसलाई लौरो अभियान, स्वतन्त्र र जेनजी समूहको साझा कार्यक्रम भनेका छन्।

‘बालेनलाई साथ दिएका पुरानो टिमका अधिकांश उनको निर्णयले असन्तुष्ट छन्,’ लौरो अभियानका कार्यवाहक संयोजक बजगाईंले बुधबार नेपालखबरसँग भने, ‘स्वतन्त्रहरूको साझा फूलबारीका रूपमा रहेको हाम्रो लौरो बार्गेनिङको हतियार बन्न सक्दैन, स्वतन्त्रहरूलाई नै फिर्ता गरियोस्।’

उक्त पार्टीका केहीलाई केन्द्रीय सदस्य पदको लोभमा रास्वपामा सामेल गराएको आरोप उनले लगाएका छन्।

‘केही अवसरवादी साथीहरूले हाम्रो नेपाली पाटीको नाम परिवर्तन गरेर देश विकास पार्टी बनाए र त्यसलाई मनपरि हिसाबमा कसैलाई लगेर बुझाई रास्वपाको केन्द्रीय सदस्य बन्न गए’, बजगाईंले भने। 

डम्बर शाहुले पनि लौरो अभियानको दुुरुपयोग गरिएको गुनासो पोखे। 

अब के गर्ने भन्ने विषयमा आजको भेलाले निर्णय गर्ने उनको भनाइ छ। 

शाहुका अनुसार स्थानीय तहको चुनावमा लौरो चिह्नबाट उम्मेदवार बनेकाहरू यो अभियानमा जोडिएका छन्।

‘पहिला स्वतन्त्र अभियान चलाएका साथीहरू सबैजना बालेन समूहकै हुन, यो अभियानमा उहाँहरू सबैको साथ छ’, उनले नेपालखबरसँग भनेका छन्।

बालेनले देश विकास पार्टीमा रहेका अनन्तराज घिमिरे र रोहन कार्कीलाई भने रास्वपाको केन्द्रीय सदस्य बनाइसकेका छन्।

‘देश विकास त परिवार्तित नाम हो, हामीले त्यो नामलाई स्वीकार गरेकै छैनौँ,’ उनले भने, ‘केन्द्रिय सदस्यको लागि साथीहरूले पार्टीलाई कोही कसैलाई तिलाञ्जलि दिएर जाने काम भयो, यो उक्त पार्टी वा लौरोबाट निर्वाचनमा सहभागी सम्पूर्णको आवाज हो।’

बुद्धनगरमा आयोजित भेलाका थप तस्बिर 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad