राजनीति


कांग्रेसले भन्यो- व्यक्तिले बोलाउने विशेष महाधिवेशन विधान विपरीत हो

कांग्रेसले भन्यो- व्यक्तिले बोलाउने विशेष महाधिवेशन विधान विपरीत हो

नेपालखबर
पुस २३, २०८२ बुधबार १८:१०, काठमाडौँ

नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्माको निर्देशनमा पुस २७ र २८ गतेका लागि घोषणा गरिएको विशेष महाधिवेशन विधान विपरीत भएको बताएको छ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको विधानमा कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभएको बताएका हुन्।

‘पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,  ‘तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ।’

यस्तै गत मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत् निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रकृया अघि बढी सकेको विज्ञप्तिमा उल्लेख छ। 

नियमित महाधिवेशनको कार्यतालिका अघि बढिसकेको भन्दै विशेष महाधिवेशन महाधिवेशनको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको विषय  पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्पष्ट गरिसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 


फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ को राष्ट्रिय सभा सदस्यको निर्वाचन रहेको भन्दै पार्टीको प्रतिष्ठा र हितलाई ध्यानमा राखी पार्टीका सबै तहका समिति, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समिति, सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकहरूलाई पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने अभियानमा लाग्न पनि विज्ञप्तिमा आह्वान गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad