काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को समूहमा विभाजन देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेपछि शाहलाई स्थानीय चुनावदेखि साथ दिइरहेका केही व्यक्ति असन्तुष्ट भएका हुन्।
जसमा स्वतन्त्र तथा लौरो अभियान चलाइरहेका र केही जेनजी युवासमेत छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने सर्तसहित बालेनले यही पुस १३ गते रास्वपासँग सहमति गरेका हुन्।
जसअनुसार आफू वरिष्ठ नेता बन्दै उनले आफ्नो समूहबाट कुल २६ जना रास्वपाको केन्द्रीय समितिमा पुर्याएका छन् भने समानुपातिक उम्मेदवारको सूचीमा ३६ जना समेटेका छन्।
यही विषयमा उनको समूहको एउटा तप्का भने असन्तुष्ट भएको हो। यो समूहले बिहीबार छुट्टै भेला आयोजना गर्दै छ। जसमा ५ सय जनाको उपस्थित रहने दाबी लौरो अभियानका कार्यवाहक संयोजक विनोद बजगाईंले गरेका छन्।
बालेनलाई प्रतिनिधि सभा चुनाव लडाउनकै लागि भनेर २०८० सालतिरै लौरो चुनाव चिह्न लिएर हाम्रो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको थियो।
अनन्तराज घिमिरे र रोहन कार्कीलगायतको नेतृत्वमा गठित त्यो पार्टीको नाम पछि परिवर्तन गरेर देश विकास पार्टी राखिएको थियो।
यसअघि रास्वपासँग कुरा नमिल्दा बालेनले देश विकास पार्टीको नेतृत्व गर्ने घोषणा गर्दै जेनजीसहित पुराना र नयाँ सबै दलका नेतासँग पुस पहिलो साता लगातार भेटवार्ता गरेका थिए।
तर रास्वपा सभापति रवि लामिछानेसँग दुई चरण लामो वार्तापश्चात् अन्तत: उनले पुस १३ बिहानै एकता समझदारी पत्रमा हस्ताक्षर गरेका थिए- देश विकास पार्टीलाई अलपत्र छाडेर।
अहिले त्यही समूहका व्यक्तिहरू लौरो चिह्न माग्दै विरोधमा उत्रिएका हुन्। जसको नेतृत्व विनोद बजगाईँ, डम्बर शाहु र हरि कार्कीले गरेका छन्।
लौरो चिह्नबाट बालेन शाहलाई मेयर जिताएको सो समूहले रास्वपासँग भएको एकता पनि नमान्ने भएको बताएको छ।
उनीहरूले यसलाई लौरो अभियान, स्वतन्त्र र जेनजी समूहको साझा कार्यक्रम भनेका छन्।
‘बालेनलाई साथ दिएका पुरानो टिमका अधिकांश उनको निर्णयले असन्तुष्ट छन्,’ लौरो अभियानका कार्यवाहक संयोजक बजगाईंले बुधबार नेपालखबरसँग भने, ‘स्वतन्त्रहरूको साझा फूलबारीका रूपमा रहेको हाम्रो लौरो बार्गेनिङको हतियार बन्न सक्दैन, स्वतन्त्रहरूलाई नै फिर्ता गरियोस्।’
उक्त पार्टीका केहीलाई केन्द्रीय सदस्य पदको लोभमा रास्वपामा सामेल गराएको आरोप उनले लगाएका छन्।
‘केही अवसरवादी साथीहरूले हाम्रो नेपाली पाटीको नाम परिवर्तन गरेर देश विकास पार्टी बनाए र त्यसलाई मनपरि हिसाबमा कसैलाई लगेर बुझाई रास्वपाको केन्द्रीय सदस्य बन्न गए’, बजगाईंले भने।
डम्बर शाहुले पनि लौरो अभियानको दुुरुपयोग गरिएको गुनासो पोखे।
‘अब के गर्ने भन्ने कुरा भोलि (बिहीबार) को भेलाले तय गर्छ,’ उनले नेपालखबरसँग भने।
शाहुका अनुसार स्थानीय तहको चुनावमा लौरो चिह्नबाट उम्मेदवार बनेकाहरू यो अभियानमा जोडिएका छन्।
‘पहिला स्वतन्त्र अभियान चलाएका साथीहरू सबैजना बालेन समूहकै हुन, यो अभियानमा उहाँहरू सबैको साथ छ,’ शाहुले थपे, ‘अघिल्लो निर्वाचनमा लौरोबाट उम्मेदवार भएका दुई सयभन्दा बढीले प्रत्यक्ष उपस्थित हुने बताउनुभएको छ।’
बालेनले देश विकास पार्टीमा रहेका अनन्तराज घिमिरे र रोहन कार्कीलाई भने रास्वपाको केन्द्रीय सदस्य बनाइसकेका छन्।
‘देश विकास त परिवार्तित नाम हो, हामीले त्यो नामलाई स्वीकार गरेकै छैनौँ,’ उनले भने, ‘केन्द्रिय सदस्यको लागि साथीहरूले पार्टीलाई कोही कसैलाई तिलाञ्जलि दिएर जाने काम भयो, यो उक्त पार्टी वा लौरोबाट निर्वाचनमा सहभागी सम्पूर्णको आवाज हो।’
Shares

प्रतिक्रिया