प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले प्रदेश प्रमुख लाभलाई प्रदेशको राजनीतिक समस्या समाधानका क्रममा अभिभावकका रुपमा प्रभावकारी भूमिका खेल्न सफल भएको भन्दै प्रशंसा गरेकी थिइन्।
साथै पछिल्ला दिनमा मधेसमा देखिएको सामाजिक समस्या समाधानमा पनि यस्तै भूमिका खेल्न आग्रह पनि गरिन्। ‘मधेस प्रदेशमा देखिएको राजनीतिक समस्या समाधानका लागि तपाईंले जुन अभिभावकीय भूमिका खेल्नुभयो, त्यो प्रशंसनीय छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अझै पनि समाजका सबै पक्ष समेटेर शान्ति र सद्भाव कायम राख्न यस्तै भूमिका खेल्न सक्नुहुनेछ भन्ने मलाई विश्वास छ।’
आउँदो फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा यसबीचमा आउन सक्ने सम्भावित चुनौतीहरुतर्फ पनि सतर्क हुनुपर्ने प्रधानमन्त्रीको धारणा थियो।
‘देश अब पूरै निर्वाचनको मुडमा गइसकेको छ,’ उनले भनिन्, ‘यस्तो समयमा कतिपय तत्त्वले चुनौती खडा गर्न सक्छन्। त्यसतर्फ सचेत रहँदै समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सबै पक्षले भूमिका खेल्नुपर्ने हुन्छ। तपाईँ पनि अभिभावकका रुपमा पहल गर्नुहोस्। राज्यका सबै संयन्त्र परिचालन गरी चुनावका लागि अनुकूल वातावरण बनाउँदै जानुपर्छ।’
प्रदेश प्रमुख लाभले पनि प्रदेशको शान्ति सुव्यवस्था कायम राख्न आफ्नो तर्फबाट प्रयास गरिरहेको र सुरक्षा तथा प्रशासनिक संयन्त्र परिचालित भइरहेको जानकारी दिए।
प्रदेश प्रमुख लाभले भेटका अवसरमा आफूले पदभार सम्हालेपछिका २ महिनाको अवधिमा गरेका कामको विवरण प्रस्तुत गर्नुका साथै प्रधानमन्त्री कार्कीलाई मिथिलाका स्थानीय कलाकारले बनाएको जानकी मन्दिरको प्रतिमा र आफ्ना पुस्तक उपहार पनि दिए।
Shares

प्रतिक्रिया