निर्वाचन आयोगद्वारा गठन गरिएको केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठक सोमबार बसेको छ। निर्वाचन आचारसंहिता, २०८२ अनुसार गठित समितिको बैठक निर्वाचन आयुक्त सगुन शम्शेर ज.ब.रा.को संयोजकत्वमा सम्पन्न भएको हो।
बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकी कुमारी तुलाधरलगायत समितिका पदाधिकारी सहभागी थिए।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि अन्तरनिकाय सहकार्य, नियामक निकायको भूमिका, कार्यान्वयनका चुनौती तथा नियन्त्रणका उपायबारे छलफल भएको आयोगले जनाएको छ।
बैठकमा निर्वाचनका समयमा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत फैलिने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति र भ्रमपूर्ण सामग्री नियन्त्रणका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सामाजिक सञ्जाल नियमन महत्वपूर्ण रहेको उल्लेख गर्दै ‘आचारसंहिता कार्यान्वयनमा प्रविधिको दुरुपयोग रोक्न नियामक, अनुसन्धान र अभियोजन निकायसँग सहकार्य अपरिहार्य’ रहेको बताए।
आयुक्त डा. तुलाधरले राजनीतिक दलहरूसँग परामर्श गरेर आचारसंहिता लागू गरिने र मिथ्या सूचना न्यूनीकरणमा आयोग सचेत रहेको बताइन्।
समितिका संयोजक आयुक्त सगुन शम्शेर ज.ब.रा.ले विगतका कमजोरी सुधार गर्दै यसपटक आचारसंहिता कार्यान्वयनमा गुणात्मक उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे।
Shares

प्रतिक्रिया