राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न पार्टी र समूहसँग गरेको एकताबाट आएका नेतालाई समायोजन गर्न थालेको छ। यसका लागि आइतबार सचिवालय र केन्द्रीय समितिको बैठक बसेर निर्णय गरेको छ।
आइतबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकले विवेकशील साझा पार्टीबाट आएका ७ नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। त्यस्तै, साँझको बैठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को समूहबाट आएका नेतालाई केन्द्रीय समितिमा मनोनित गरेको छ।
बालेनको समूहले महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता पाउने भएको छ। यससँगै २७ केन्द्रीय सदस्य पनि पाउने भएको छ। बालेनले पुस १३ गते रास्वपासँग एकताको सहमतिमा हस्ताक्षर गरेका थिए।
त्यस्तै, उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले पुस १४ गते रास्वपासँग सहमति गरेको थियो। बालेनको रोहबरमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले सहमतिमा हस्ताक्षर गरेका थिए।
रास्वपा, बालेनको समूह र उज्यालो पार्टीबीच सहमति हुनुअघि पुस १२ मा भएको छलफलमा कसलाई के पदाधिकारी दिने भन्ने तय भएको थियो। त्यसमा कुलमानलाई उपसभापति र महामन्त्री दिने तय गरिएको थियो। त्यस्तै, बालेनलाई सहमहामन्त्री दिने सहमति बनेको थियो।
तर, कुलमान तत्काल सहमतिमा आएनन्। पुस १३ मा रवि र बालेनबीच मात्रै सहमतिमा हस्ताक्षर भएको थियो।
कुलमान नआउने भएपछि यतिवेला बालेनलाई महामन्त्री दिने सहमति भएको छलफलमा सहभागी नेताहरूले बताएका छन्।
उज्यालो नेपालका नेता जीतराम वाइबाले पनि ढिलो सहमति भएकाले महामन्त्री आफूहरूले नपाएको बताए। ‘पहिला हामीलाई महामन्त्री दिने भन्ने कम्फर्म भएको थियो। बालेनको टिमलाई सहमहामन्त्री दिने भन्ने थियो। तर, ढिलो सहमति भएपछि हामीलाई महामन्त्री नपाउने देखियो,’ वाइबाले नेपालखबरसँग भने।
उज्यालो पार्टीबाट वाइबालाई नै महामन्त्री बनाउने प्रस्ताव गरिएको थियो। अब महामन्त्री नपाउने हुनुभयो नि भन्ने प्रश्नमा वाइबाले भने, ‘तीन-तीन जना महामन्त्री त नसुहाउने नै हुन्छ। महामन्त्री र सहमहामन्त्रीमा धेरै विवाद गर्नुहुँदैन। यो समायोजन प्रक्रिया हो, सहमहामन्त्री भए पनि हुन्छु भनिदिएको छु मैले त।’
अब उज्यालो पार्टीबाट रास्वपामा उपसभापति र सहमहामन्त्री राखिने भएका छन्। त्यस्तै, केन्द्रीय सदस्यमा पनि १८ जनालाई मनोनित गर्ने सहमति बनेको एक पदाधिकारीले नेपालखबरलाई बताए।
त्यस्तै, बालेनको समूहबाट २७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्न लागिएको छ। यसअघि विवेकशील साझाबाट आएका सात जनालाई केन्द्रीय सदस्य मनोनित गरिएको थियो। रास्वपामा १२१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ।
यद्यपि, यस विषयमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच छलफल गरेर निर्णयमा पुग्ने प्रवक्ता राजु थापाले बताए। ‘उहाँहरूबीच एक चरण कुराकानी गरेर मात्र पद बाँडफाँड निर्णय गर्ने भन्ने छ,’ थापाले भने।
Shares

प्रतिक्रिया