मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई 'पक्राउ' गरेको दाबी गरेसँगै विश्व राजनीतिमा गम्भीर संकट उत्पन्न भएको छ। अमेरिकाको यस कदमलाई विश्वका प्रमुख शक्ति राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाएको र एक सार्वभौम मुलुकमाथि 'आपराधिक हस्तक्षेप' गरेको भन्दै कडा निन्दा गरेका छन्।
भेनेजुएलाको निकटतम मित्र राष्ट्र रुसले अमेरिकाको यस कदमप्रति कडा आक्रोश व्यक्त गरेको छ। रुसी विदेश मन्त्रालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, 'यदि राष्ट्रपति र उनकी पत्नीलाई जबरजस्ती देश बाहिर लगिएको रिपोर्ट सत्य सावित भएमा यो कुनै पनि देशको सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन मात्र होइन, बरु एउटा देशले अर्को देशमाथि गरेको 'डकैती' सरह हुनेछ।' रुसले अमेरिकी सैन्य कारबाहीलाई 'अत्यन्त चिन्ताजनक' भन्दै यसले विश्व व्यवस्थालाई नै अस्थिर बनाउने चेतावनी दिएको छ।
त्यसैगरी, चीनले पनि अमेरिकाको यो 'दवदबापूर्ण' कार्यको कडा शब्दमा भर्त्सना गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा शान्ति र सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गरेको आरोप लगाएका छन्। चीनले भनेको छ, 'एक सार्वभौम देशविरुद्ध अमेरिकाको खुला बल प्रयोग र त्यसका राष्ट्रपतिविरुद्धको कारबाहीबाट हामी स्तब्ध छौँ। हामी अमेरिकालाई संयुक्त राष्ट्र संघको चार्टर र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न अपिल गर्दछौँ।'
ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला डा सिल्भाले अमेरिकी कदमको कडा प्रतिवाद गर्दै यसलाई 'स्वीकार्न नसकिने हद' भनेका छन्।उनले भने, 'भेनेजुएलाको इलाकामा बमबारी र निर्वाचित राष्ट्रपतिलाई पक्रनु भनेको हिंसा र अराजकतातिर संसारलाई धकेल्नु हो। यो ल्याटिन अमेरिकाको राजनीतिमा हस्तक्षेपको सबैभन्दा नराम्रो र कालो समयको याद दिलाउने घटना हो।' उनले यसलाई अन्तर्राष्ट्रिय समुदायका लागि एउटा 'खतरनाक नजिर'को रूपमा व्याख्या गरेका छन्।
भेनेजुएलाको छिमेकी देश क्युबाले पनि यसलाई 'आपराधिक हमलाुको संज्ञा दिँदै अन्तर्राष्ट्रिय समुदायलाई तुरुन्त कारबाहीको माग गरेको छ। क्युबाका राष्ट्रपति मिगेल दियाज कानेलले एक शान्तिपूर्ण क्षेत्रमा अमेरिकाले बर्बरता देखाएको आरोप लगाउँदै लेखेका छन्, 'मातृभूमि वा मृत्यु।'
यसैबीच, चिलीका राष्ट्रपति गेब्रियल बोरिकले अमेरिकाको सैन्य कारबाहीको निन्दा गर्दै संकटको समाधान विदेशी हस्तक्षेप वा हिंसाबाट नभई वार्ताबाट हुनुपर्नेमा जोड दिएका छन्। उनले चिली सधैँ अर्को देशको क्षेत्रीय अखण्डता र हस्तक्षेपविहीनताको सिद्धान्तमा अडिग रहेको स्पष्ट पारेका छन्। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबामले पनि संयुक्त राष्ट्र संघको चार्टर उल्लेख गर्दै कुनै पनि राज्यको राजनीतिक स्वतन्त्रता विरुद्ध बल प्रयोग गर्नु गलत भएको बताएकी छन्।
संयुक्त राष्ट्र संघ (यूएन) ले पनि यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासचिव एन्टोनियो गुटेरेसले आजको सैन्य कारबाहीले क्षेत्रमा चिन्ताजनक नतिजाहरू निम्त्याउन सक्ने चेतावनी दिएका छन्। यूएनले भनेको छ, 'अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र चार्टरको सम्मान नहुनु गम्भीर विषय हो।'
यता, अमेरिकी हमलाको विरोध भइरहँदा अर्जेन्टिनाले भने यसको स्वागत गरेको छ। अर्जेन्टिनी राष्ट्रपति जेभियर माइलीले सामाजिक सञ्जालमा 'आजादी (स्वतन्त्रता) अगाडि बढ्दैछ' भन्दै ट्रम्पको कदमको समर्थन गरेका छन्। बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले भने यस अपरेशनमा आफ्नो देशको कुनै भूमिका नरहेको भन्दै पन्छिन खोजेका छन्। उनले ट्रम्पसँग यसबारे कुरा नगरेको र थप तथ्य बुझेपछि मात्रै आधिकारिक धारणा राख्ने बताएका छन्।
घटनापछि भेनेजुएलामा ठूलो सैन्य हलचल सुरु भएको छ। भेनेजुएलाका रक्षा मन्त्रीले देशभर तुरुन्त मिलिट्री फोर्स तैनाथ गर्ने घोषणा गरेका छन्। हमलामा कति सैन्य पूर्वाधार नष्ट भयो र कति सर्वसाधारण हताहत भए भन्ने विवरण अझै आउन बाँकी छ। अमेरिकाले भने मादुरो र उनकी पत्नीविरुद्ध न्युयोर्कको अदालतमा कानुनी मुद्दा चलाउने तयारी गरेको छ। भेनेजुएलाले यस विषयमा छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक समेत बोलाएको छ।
छिमेकी देश कोलम्बियाले भेनेजुएलाका नागरिकहरू ठूलो संख्यामा आफ्नो देश छिर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमामा सेना परिचालन गरेको छ। यो घटनाले दक्षिण अमेरिका मात्र नभई समग्र विश्व राजनीतिमा एउटा नयाँ र जटिल मोड ल्याइदिएको छ।
Shares

प्रतिक्रिया