नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताए।
आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव महासेठले अहिले चुनावको वातावरण बन्न नसकेको जिकिर गरे। महासेठले भने, ‘अहिलेको अवस्थामा निर्वाचन हुन्छ भन्नेमा आशंका छ। तर पनि निर्वाचन भयो भने नेकपा (एमाले) निर्वाचनबाट भाग्दैन।’
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदी बाहिरै रहेकाले शान्ति सुरक्षाको प्रश्न रहेको औंल्याए। ‘जेनजी आन्दोलनको क्रममा भागेका बहुसंख्यक कैदी बाहिर छन्। लुटिएका हतियार आधाभन्दा बढी हतियार बाहिर छन्,’ उनले प्रश्न गरे, ‘ती हतियार कसको विरुद्धमा प्रयोग हुन्छ? यस्तो अवस्थामा चुनाव कसरी गराउन सकिन्छ?’
उनले संघीयता गणतन्त्र र वर्तमान उपलब्धिको रक्षाका लागि सबै लोकतान्त्रिक पक्षधर शक्तिबीच एकता आवश्यक रहेको बताए। आफूलाई प्रगतिशील भन्नेहरू अहिले जनतालाई भ्रमित पार्ने काममा लागेको उनको आरोप थियो।
Shares

प्रतिक्रिया