पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गरेकी छन्।
शुक्रबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी सर्वोच्च अदालत पुगेकी हुन्। उनले जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको अवलोकन गरेकी छन्। उनले डेढ घण्टा सर्वोच्च अदालतमा बिताइन्।
त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेटवार्ता गरेकी छन्। सुरुवातमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीशहरूसँग भण्डारीले कुराकानी गरेकी थिइन्।
त्यसपछि पूर्वराष्ट्रपति भण्डारी र प्रधानन्यायाधीश राउतबीच मात्रै कुराकानी भएको थियो। ‘सुरुवातमा प्रधानन्यायाधीश, न्यायाधीश र मुख्य रजिस्ट्रारसहित सबैसँगै संयुक्त रुपमा कुराकानी गर्नुभयो। त्यसपछि ४५ मिनेट जति प्रधान्यायाधीशसँगै मात्रै कुराकानी गर्नुभयो,’ स्रोतले नेपालखबरसँग भन्यो।
पूर्वराष्ट्रपति भण्डारीलाई मुख्य रजिस्ट्रार बिमल पौडेलले सर्वोच्च अदालतको अवलोकन गराएका थिए। जेनजी आन्दोलनमा भएको क्षतिका विषयमा मुख्य रजिस्ट्रार पौडेलले जानकारी गराएका थिए।
जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले दुःख लागेको बताइन्। ‘न्यायको मूर्ति भएको ठाउँ, ऐतिहासिक धरोहर जलेकोमा एकदमै दुःख लागेको छ,’ भण्डारीले भनिन्।
उनले सर्वोच्च अदालतको तत्काल पुनर्निर्माण गर्नुपर्नेमा जोड दिइन्। ‘सर्वोच्च, सिंहदरबार र संसद् भवन ऐतिहासिक र महत्त्वपूर्ण ठाउँ हुन्। सर्वोच्च सामान्य नागरिकले न्यायका लागि ढोका ढकढाउने ठाउँ हो। सरकारले पुनर्निर्माण ध्यान देओस्,’ भण्डारीले भनिन्।
केही साताअघि पूर्वराष्ट्रपति भण्डारीले सिंहदरबार र संसद् भवनको पनि अवलोकन गरेकी थिइन्।
Shares

प्रतिक्रिया