प्रधानमन्त्री सुशीला कार्कीसँग छलफलपछि नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले माग पूरा नभएमा चुनाव हुन नदिने बताएका छन्।
प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले संविधान संशोधन गर्नुपर्ने लगायतका विभिन्न माग राखेको छ। यस विषयमा प्रधानमन्त्री कार्कीले प्रसाईंसँग पटकपटक छलफल पनि गरेकी छन्।
बिहीबार पनि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्की र प्रसाईंबीच छलफल भएको छ। माग पूरा गर्ने विषयमा प्रधानमन्त्री कार्कीले आइतबारसम्म समय मागेकी छन्।
आइतबारसम्म माग पूरा नभएमा आन्दोलनमा जाने प्रसाईंले चेतावनी दिएका छन्। प्रधानमन्त्री कार्कीसँग छलफलपछि नेपालखबरसँग कुराकानी गर्दै प्रसाईंले भने, ‘हाम्रा माग पूरा भएनन् भने म चुनावमा जाँदिनँ, चुनाव हुन पनि दिँदैन।’
माग पूरापछि पनि चुनाव सार्नुपर्ने उनको भनाइ छ। प्रसाईंले भने, ‘माग पूरा भए मात्रै चुनावमा जान्छौँ, त्यो पनि चुनाव सार्नुपर्छ, अर्को मंसिरमा। अहिलेको अहिले त कहाँबाट चुनाव गइन्छ, हतारहतारमा।’
आफ्ना माग पूरा भएमा अहिलेकै सरकारलाई सहयोग गर्ने उनले जनाएका छन्। माग पूरा नभएमा जेनजीलाई समेटेर आन्दोलनमा जाने र त्यसको तयारी गरिसकेको उनको दाबी छ।
‘हाम्रो माग पूरा भयो भने यिनीहरूलाई नै सपोर्ट गर्ने हो। माग पूरा भएन भने आन्दोलनमा जाने हो र यिनीहरूलाई फ्याक्ने हो,’ प्रसाईंले भने, ‘अहिलेसम्म हामी पनि भित्रभित्रै संगठन बनाउँदै थियौँं। जेनजीलगायत सबैलाई समेटेर आन्दोलनमा जान्छौँ।’
Shares

प्रतिक्रिया