राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातक उम्मदवारको सूची बुझाउँदा तयारी गर्ने समय नपाएका कारण कमजोरी भएको दाबी गरेका छन्।
बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो पार्टी विधिभन्दा बाहिर नजाने दाबी पनि गरे।
उनले निर्वाचन आयोगले दिएको समयमा समानुपातिक सूचीमा ‘रिभ्यु’ गर्ने बताए।
सभापति लामिछानेले भने, ‘पछिल्लो परिस्थितिमा जुन राजनीतिक घटनाक्रमहरू भए, विशेषगरेर हामी नयाँ जसरी एक ठाउँमा उभिएर जाने भनेर छोटो समयमा निर्णय भयो । त्यसले हामीलाई तयारीमा हाम्रो समय नपुगेको जरुर हो।’
उनले ऊर्जामन्त्री कुलमान घिसिङसँग पार्टी एकता गर्दा हतारमा सूची बुझाउनु परेकोले ध्यान दिन नपाएको स्पष्ट पारे।
उनले थपे, ‘यो चाहिँ रिभ्यू गर्ने समय हुन्छ भन्नेलाई मध्यनजर गर्दै, किनभने कुलमानजीसँग हामीले अन्तिम समयमा गरेका हौं। किनभने उता सूची बुझाउनु छ, यता हामी सहमति गर्दै थियौं।’
लामिछानेले आफ्नो पार्टी परिवारवादमा स्पष्ट भएको जिकिर पनि गरे। उनले विधि भन्दा बाहिर जानेलाई विधानमै ‘राइट टु रिकल’ (फिर्ता बोलाउने) व्यवस्था रहेको पनि बताए।
‘रास्वपासँग विधिसँग छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं । परिवारवादमा रास्वपा स्पष्ट छ। विधानले नै दिँदैन,’ लामिछानेले भने, ‘कथमकदाचित यी सबै विधिहरू नाघेर जानु भएछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ।’
उनले पार्टीमा बोक्नुपर्ने एक जना पनि मान्छे नरहेको दाबी गरे। अझ केही दिन आउन सक्ने थप विवादबारे पर्खने र आवश्यक निर्णय गर्ने उनले बताए।
‘हामी सचेत छौं। तर समयले गर्दा अरु दुई दिन पनि अरु केही विवाद छन् कि भनेर हामी वेट गरेका छौं। यो दुई दिनमा जति पनि जायज गुनासो छन्, सबै सम्बोधन गर्छौं। किनभने हामीले बोक्नुपर्ने एक जना मान्छे पनि छैन पार्टीमा,’ लामिछानेले भने।
लामिछानेले देशको राजनीति दुषित हुँदा धेरै सचेत नागरिकहरू राजनीतिमा जुर्मुराएको दाबी गर्दै समाजका सबै तह, तप्का, पेशा व्यवसायमा रहेका मान्छेहरूलाई समेटिएको स्पटष्टीकरण दिए।
Shares

प्रतिक्रिया