ad ad

राजनीति


नेकपा स्थायी समिति बैठक: २० नेताले पेस गर्दैछन् पुरक प्रस्ताव

नेकपा स्थायी समिति बैठक: २० नेताले पेस गर्दैछन् पुरक प्रस्ताव

सागर न्यौपाने
बैशाख २२, २०७७ सोमबार १०:४३,

सत्तारुढ नेकपाका २० जना स्थायी समिति सदस्यले आगामी बैठकमा पुरक प्रस्ताव पेस गर्ने भएका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मुख्य प्रस्ताव ल्याउने भएकाले २० नेताले पुरक प्रस्तावको तयारी गरेका हुन्।

पुरक प्रस्ताव तयारीका लागि आन्तरिक छलफल भइरहेको स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए।

एकल रुपमा सबैले धारणा राख्ने भएपनि सामूहिक रुपमा पेस गर्दा बढी प्रभावकारी हुने उनीहरुको विश्वास छ। २० गते बसेको नेकपाको सचिवालय बैठकले २५ गते स्थायी समितिको बैठक बोलाएको छ।

‘हाम्रो माग अनुसार बैठकको मिति तोकिएको छ,’ गजुरेलले नेपालखबरसँग भने, बैठकमा के कसरी प्रस्तुत हुने, २० जनाकै साझा धारणा कसरी एकीकृत गरेर लैजान सकिन्छ भन्ने बारेमा हामी छलफलमै छौं।’

स्थायी समिति सदस्य भीम रावल र जनार्दन शर्माले यो कामको समन्वय गरिरहेका छन्।

२० जनाको समूहमा अष्टलक्ष्मी शाक्य, भीम रावल, भीमप्रसाद आचार्य, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी र देवप्रसाद गुरुङ छन्।

त्यस्तै, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, मणि थापा, मातृका यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र लीलामणि पोखरेल पनि यो समूहमा छन्।

यिनै २० स्थायी समिति सदस्यले बैठकको माग गर्दै १० वैशाखमा हस्ताक्षर संकलन गरेर अध्यक्षद्वयलाई बुझाएका थिए।

पुरक प्रस्तावमा अध्यादेश प्रकरणले पार्टी, नेता र कार्यकर्तालाई पारेको असर, सरकारको कार्यशैली, २ वर्षमा जनतालाई बुझाउनेगरी कुनै काम नभएको लगायतका विषय समेट्ने छन्।
पार्टी सञ्चालन सही तरिकाले नभएको भन्दै स्थायी समिति सदस्य गजुरेलले सही व्यक्तिको हातमा नेतृत्व पुर्‍याउन दबाब दिइने संकेत गरे।

‘अहिले हाम्रो पार्टी सञ्चालन ट्याक्टरलाई गोरुको तरिकाले जोतेजस्तै भइरहेको छ। ट्याक्टरलाई गोरुजसरी जोतेपछि के हुन्छ?’ गजुरेलले भने, ‘ट्याक्टर जोत्न डाइभर चाहिन्छ, हली होइन। हाम्रो सामूहिक प्रयास यसमै केन्द्रित छ।’

अर्का स्थायी समिति सदस्य मणि थापाले पार्टीलाई अझ एकताबद्ध बनाउनेगरी पुरक प्रस्ताव तयार गरिने बताए।

‘२० जना नेताहरु कसरी प्रस्तुत हुने, के के विषय उठाउने भन्ने बारेमा छलफल गरिरहेका छौं,’ थापाले भने, ‘बैठकलाई सफल बनाउने, सिंगो पार्टी एक गर्ने हाम्रो पनि जिम्मा छ। सोही आधारको खाका कोर्छौं।’

स्थायी समिति सदस्य मातृका यादव भने पार्टीको कार्यशैली फेर्न जोड दिनुपर्ने पक्षमा छन्।

‘एमाले र माओवादी केन्द्र एक भएर नयाँ पार्टी बनेपनि पुरानै कार्यशैली देखियो, यसलाई सुधार गर्न आवश्यक छ,’ यादवले भने, ‘विधि, कार्यशैली, आचरण र पद्धति नयाँ बनाउनेगरी पुरक प्रस्तावको विषयमा छलफल गरिरहेका छौं।’

सचिवालय बैठकबाट पार्टी एक भएर जाने निर्णय भएपनि समस्या नबल्झनेगरी निर्णय गरिनुपर्ने उनीहरुको माग छ।

‘एकतावद्ध भएर जाने निर्णय ठीक छ, तर पुराना समस्या दोहोरिएसम्म पार्टी बन्न सक्तैन,’ नेता गजुरेलले भने।

स्थायी समितिकै केही नेताले भने सचिवालय बैठकले तय गर्ने एजेण्डा र अध्यक्षद्वय ओली–प्रचण्डको प्रतिवेदनको आधारमा आफ्ना धारणा राख्ने तयारी गरेका छन्।

नेता लीलामणि पोखरेलले अध्यादेशका कारण पार्टीमा परेको प्रभाव, नेतृत्वको कार्यशैलीले तहसनहस भएको संगठनको बारेमा प्रष्ट जवाफ आउनुपर्ने बताए।

‘अध्यादेशले पार्टी, सरकार र जनतामा पारेको प्रभावको क्षतिपूर्ति कसले दिन्छ?’ पोखरेलले प्रश्न गरे, ‘सरकारले गरेका गलत काम कसरी सच्चिन्छन्? विधि र प्रक्रिया कहाँ कहाँ तोडिएका छन् र कसरी सुधार गरिन्छ? यी प्रश्न बैठकमा राख्नेछु।’

स्थायी समिति बैठकको एजेण्डा तय गर्न नेकपाको सचिवालय बैठक वैशाख २४ गते बोलाइएको छ।

सरकारले वैशाख ८ गते दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि त्यसले नेकपामा ठूलो विवादको सिर्जना गरेको थियो।

पार्टीभित्र र बाहिर चर्को आलोचना भएपछि वैशाख १२ मा सरकारले अध्यादेश फिर्ता लिएको थियो।

यसअघिको स्थायी समिति बैठकमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे चर्को बहस भएको थियो। मंसिर २९ गतेबाट पुस पहिलो साताभर लम्बिएको सो बैठकमा बहुसंख्यक सदस्यले एमसीसी पारित नगर्न दबाब दिएका थिए।

सो सम्झौता हालसम्म अघि बढ्न सकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .