पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनमा भएका घटनाबारे जाँचबुझ आयोगमा बयान दिएका छन्।
सोमबार आयोगको कार्यालय सिंहदरबारमा पुगेर लेखकले बयान दिएका हुन्।
उनले बयानका लागि लिखित तयारी समेत गरेका थिए।
जाँचबुझ आयोगसमक्ष लेखकले आफूलाई स्थान हद तोकिएको र राहदानी रोक्का गरिएको विषयमा गम्भीर असन्तुष्टि जनाएका छन्।
उनले आफूलाई किन स्थान हद तोकिएको र राहदानी रोक्का किन गरिएको भन्दै प्रश्न समेत उठाएका छन्।
‘मैले बडो दु:खका साथ भन्नुपरेको छ, आयोगको सिफारिसमा नेपाल सरकारले तीन महिना पूर्व म समेतलाई काठमाडौँ उपत्यकाभित्र स्थानहद गरेको र राहदानी रोक्का गरेको मैले सञ्चारमाध्यममार्फत जानकारी पाएँ। मलाई देशको संविधान वा अन्य प्रचलित कानुनको कुन व्यवस्थाअनुसार, के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि किन स्थानहद र राहदानी रोक्का गरेको हो ? कुनै लिखित वा मौखिक जानकारी समेत दिइएको छैन’, लेखकले बयानमा सोधे, ‘न त मलाई यसबारे सोध्ने वा जवाफ दिने मौका नै दिइएको छ। यो विषयमा निर्णय गर्नुपूर्व र पछि पनि मैले विधिवत् रुपमा जानकारी पाउनुपर्ने कुरा विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्तभित्र नै पर्ने हो भन्ने मलाई विश्वास थियो। तर त्यो भएन।’
विना कारण, विना जानकारी यस प्रकारका निर्णय वा कार्य गरिनु संविधान एवं कानुनी व्यवस्थाविपरीत समेत भएको लेखकले बताएका छन्। यसतर्फ आयोग र सरकारसहित सबै निकायलाई उनले ध्यानाकर्षण समेत गराएका छन्।
उनलाई आयोगलाई जेनजी आन्दोलनमा भएका सबैखालका घटनाबारे स्वच्छ, निष्पक्ष र पूर्वाग्रहरहित ढंगबाट जाँबुझ, छानबिन गरी घटनाको सत्य, तथ्य पत्ता लगाई वास्तविकता उजागर गर्न पनि आग्रह गरेका छन्।
भोलिका सन्ततिका लागि यो आयोगले उचित मार्ग निर्देश गर्न सक्नुपर्ने उनको भनाइ छ।
आयोगले उनीहरुसँगै स्थानहद तोकिएका र राहदानी रोक्का गरेका तीन जनाको भने बयान सकिएपछि फुकुवा गरिसकेको छ।
पूर्व आईजीपी चन्द्रकुवेर खापुङ, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको बयानपछि स्थानहद र राहदानी फुकुवा गरिएको थियो।
लेखकको बयान सकिएसँगै अब फुकुवा गर्ने संभावना छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बयान बाँकी छ। ओली बयान दिन आयोगको कार्यालयमा नआउँने बताउँदै आएका छन्। उनको बयान दिन आयोगको टोली घरमै जाने संभावना छ। त्यसपछि स्थान हद र राहदानी पनि फुकुवा गर्ने तयारी छ।
Shares

प्रतिक्रिया