नेपाली कम्युनिष्ट पार्टी, पाल्पाले आगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
पार्टीले पाल्पाका दुवै निर्वाचन क्षेत्रमा अनुभवी र नयाँ पुस्ताका नेताहरूको मिश्रित सूची केन्द्रमा पठाएको हो।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट हुम बहादुर सुनारी मगर, कमल राज भट्टराई, लिला कुमारी बगाले सोमै, नारायणी खनाल र मीन प्रसाद गिरी (युवा) को नाम सिफारिस गरिएको छ।
यस क्षेत्रबाट लिला कुमारी सोमै र हुम बहादुर सुनारी मगर मध्ये एक जनाले अन्तिम उम्मेदवारी पाउने सम्भावना देखिएको छ। उल्लेखनीय छ, सोमै २०६४ सालको संविधानसभा निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित नेतृ हुन्।
त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट सोम प्रसाद पाण्डेय, यादव बहादुर रायमाझी, नेत्र प्रसाद पाण्डे, डेमलाल घिमिरे (अनिल किशोर), पूर्ण बहादुर खड्का (पुरन केसी–युवा), राजेन्द्र बहादुर बिक र तुलसा राना को नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर २ बाट पिएचडी स्कलर अनिल किशोर घिमिरे (डेमलाल घिमिरे) को सम्भावना बलियो बन्दै गएको देखिन्छ। सात पटक निर्वाचन लडिसकेका, मन्त्रीसमेत भइसकेका सोम प्रसाद पाण्डेय हाल चुनाव लड्न अनिच्छुक जस्तो देखिएकाले पनि नयाँ नेतृत्वको सम्भावना बढेको पार्टी वृत्तमा चर्चा छ।
जेन–जी आन्दोलनपछि नयाँपन र नयाँ प्रतिनिधित्वको बहस चलिरहेका बेला घिमिरेको शैक्षिक र राजनीतिक पृष्ठभूमि बलियो मानिएको छ। उनले राजनीति शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर, एलएलबी तथा बौद्ध पर्यटन विषयमा एमफिल पूरा गरिसकेका छन्।
लामो राजनीतिक अनुभव बोकेका घिमिरे विद्यार्थी मोर्चाको केन्द्रीय अध्यक्ष तथा पार्टीको युवा मोर्चाको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। हाल उनी नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहेका छन्।
युवा उम्मेदवारका रूपमा पूर्ण बहादुर खड्का (पुरन केसी) ले पनि क्षेत्र नम्बर २ बाट सशक्त रूपमा आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।
पार्टीभित्र अनुभवी र युवा नेतृत्वबीच सन्तुलन खोज्ने प्रयासका रूपमा पाल्पामा सिफारिस गरिएको उम्मेदवार सूचीलाई हेरिएको छ। अब केन्द्रको निर्णयपछि पाल्पाबाट कसले अन्तिम टिकट पाउने भन्ने विषयमा राजनीतिक चासो बढेको छ।
Shares

प्रतिक्रिया