राजनीति


कुलमान समेट्न आग्रह गर्दै रवि-बालेनलाई सुदन गुरुङको चेतावनी: पक्ष लिन बाध्य नपार्नुहोस्

कुलमान समेट्न आग्रह गर्दै रवि-बालेनलाई सुदन गुरुङको चेतावनी: पक्ष लिन बाध्य नपार्नुहोस्

नेपालखबर
पुस १४, २०८२ सोमबार ६:१०, काठमाडौँ

जेनजी प्रतिनिधिका एक अगुवा सुदन गुरुङले रवि लामिछाने र बालेन्द्र शाह (बालेन) ले कुलमान घिसिङलाई एकतामा नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

यी तीनै जनाबीच एकताको प्रयास भइरहे पनि अन्तत: आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेनबीच मात्र सहमति भएपछि गुरुङले विरोध जनाएका हुन्। 

ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङलाई उक्त एकताबाट बाहिर राखिनु परिवर्तन चाहने जनताका लागि दुःखद रहेको गुरुङले उल्लेख गरेका छन्। साथै उनले अझै पनि कुलमान नसमेटिए पक्ष लिनुपर्ने अवस्था आउने चेतावनीसमेत दिएका छन्।

मध्यराति गुरुङले फेसबुकमा लेखेका छन्, ‘यो अवसर होइन, एउटा गम्भीर परिस्थिति हो। यस्तो समयमा हामीले सबै प्रमुख शक्तिहरू एकजुट भएर उभिने अपेक्षा गरेका थियौँ। कसैलाई पनि कुनै पक्ष लिन बाध्य पार्ने होइन। तर यति निर्णायक घडीमा पनि कुलमान घिसिङ अलग भएको देखिनु परिवर्तन चाहने हामी आम जनताको लागि दुःखद छ। अलग राखिएको हो कि अलग रहन खोजेका हुन्, समयले बताउला। तर आजको समयले तपाईंहरूलाई सँगै उभिने म्यान्डेट दिएको छ।’

उनले अगाडि लेखेका छन्, ‘आदरणीय तथा प्रिय सरोकारवाला शक्तिहरूलाई विनम्र अनुरोध छ- कृपया! यस अन्तिम क्षणमा पनि हामीलाई कुनै पक्ष लिन बाध्य नपार्नुहोस्। देशलाई विभाजन होइन, एकता आवश्यक छ।त्यसैले एउटा स्पष्ट प्रश्न उठ्छ- के तपाईंहरू साँच्चिकै बाँकी रहेका स्तम्भहरूलाई एकताबद्ध गर्न चाहनुभएको हो कि केवल त्यसको भ्रम मात्रै छरिरहनुभएको हो? जेनजीले हेरिरहेको छ।’

त्यसो त रवि-बालेनले एकता सहमतिपछि पनि कुलमानलाई समेट्न वार्ता जारी राखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad