राजनीति


रवि-बालेन सहमतिले तनावमा हर्क साम्पाङ, ‘डलरे’को संज्ञा दिँदै ५ घण्टामा ३७ स्टाटस्

रवि-बालेन सहमतिले तनावमा हर्क साम्पाङ, ‘डलरे’को संज्ञा दिँदै ५ घण्टामा ३७ स्टाटस्

सुमन सुस्केरा
पुस १३, २०८२ आइतबार १२:४०, विराटनगर

धरान उपमहानगरका मेयर हर्क साम्पाङ आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा निकै सक्रिय देखिएका छन्। उनले सार्वजनिक गरेका भनाइहरू आक्रामक छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन साहबीच सहमति भएपछि धरानका मेयर साम्पाङ विरोधमा लेखिरहेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले आइतबार बिहान मात्रै ५ घण्टाको अवधिमा ३७ वटा फेसबुक स्टाटस् र भिडियो लिङ्कहरू सेयर गर्दै रवि-बालेनको सहकार्यप्रति टिप्पणी गरेका छन्।

उनले पहिलो स्टाटस् बिहान ७ः२६ बजे लेखेका छन्। त्यसयता अपराह्न १२ः१२ बजेसम्म ३७ स्टाटस् लेखेका हुन्। 

‘विदेशीको इशारामा देश चलाउन खोजियो’

आफ्नो पहिलो स्टाटस्मा उनले जनतामा जाने साहस नभएकाहरूले प्रधानमन्त्रीको सपना देखेको भन्दै व्यङ्ग्य गरेका छन्। उनले लेखेका छन्, ‘जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ। फटाहाहरू। सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे।’

उनले रवि र बालेनलाई लक्षित गर्दै ‘डलरे’ र ‘विदेशीद्वारा पालित-पोषित’ को संज्ञा समेत दिएका छन्। मिडिया ट्रायलमार्फत प्रधानमन्त्री घोषणा गरिएको भन्दै उनले आफूहरू तीन करोड नेपाली जनतासँग मात्रै मिल्ने र विदेशी दलाली गर्ने पार्टीहरूसँग सहकार्य नगर्ने अभिव्यक्ति दिएका छन्। 

साम्पाङले आफ्नो पार्टीका नेता मित्र परियारलाई निष्कासन गर्नुको कारणबारे पनि स्पष्टीकरण दिएका छन्। उनले कारबाहीका दुई मुख्य कारणहरू उल्लेख गरेका छन्। पहिलो आयोजक श्रमदातालाई अपमान गरेर दम्भी व्यवहार देखाएको र दोस्रो श्रमदातालाई सुन्नै नसकिने अपशब्द प्रयोग गरी गाली गरेको उनको प्रष्टीकरण छ । 

‘जय हर्कवाद’को रटान

आफ्नो कार्यशैलीको बचाउ गर्दै साम्पाङले ‘हर्कवाद’ र ‘श्रम संस्कृति’ को पक्षमा वकालत जारी राखेका छन्। ढुङ्गा बोकेको फोटो सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘यो वाद, त्यो वाद भन्दै रात पार्नेहरूलाई देश विकासमा ढुङ्गा बोकाउने धोको छ। जय हर्कवाद।’ 

उनले आगामी निर्वाचनमा श्रम संस्कृतिले नै बहुमत ल्याउने दाबी गर्दै अन्य शक्तिहरूलाई ‘मिडिया ट्रायल’ मात्र भएको टिप्पणी गरेका छन्। 
यो अवधिमा उनी दुई पटक फेसबुक लाइभमा समेत बसेका छन्। फेसबुक लाइभमा पनि उनी निकै तनावमा देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad