राजनीति


महेश बस्नेतको टिप्पणी: रविसँग मिलेकाले अब बालेनप्रतिको आकर्षण घट्छ

महेश बस्नेतको टिप्पणी: रविसँग मिलेकाले अब बालेनप्रतिको आकर्षण घट्छ

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०८२ आइतबार ११:५३, काठमाडौँ

नेकपा एमालेका सचिव महेश बस्नेतले संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्। 

आइतबार सामाजिक सञ्जालमार्फत उनले रवि र बालेनको एकताबारे टिप्पणी गर्दै पुराना दलले गरेका कतिपय विकृतिको कारण मुलुकमा चुनौति खडा भएको बताएका छन्। 

‘नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ। गगन आए, जवर्जस्त बासी बनाइए। काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए। लोकप्रियताको आडमा बालेन आए-तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ,’ बस्नेतले भनेका छन्, ‘अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ।’

उनले बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको र अब रवि जस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तिब्र गतिमा घट्ने अनुमान पनि उनले गरेका छन्। 

‘बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रबि जस्तो बिबादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तिब्र गतिमा घट्ने देखिन्छ,’ उनले भनेका छन्, ‘काम गर्ने कालू, मकै खाने भालु’  जस्तै, रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्‍याङ चढ्नेबाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनतासँगको दूरी झन् बढ्दै जाने र जनमत झन् कमजोर हुँदै जाने निश्चितै छ।’

उनले भाद्र २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध मुठभेडमा परिणत गराइएको र केही युवाले ज्यान गुमाएको चर्चा गर्दै भाद्र २४ गते राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरिएको बताएका छन्।

‘यी घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण हुन्। यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका  देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर विषय हो।’

उनले अबको चुनावको  मुख्य प्रश्न सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई  साथ  दिने? भन्ने प्रश्न पनि गरेका छन्।

‘जलाउने धारको नेतृत्व बालेन–रविहरुले गरेकै हुन, संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ,’ उनले भनेका छन्, समस्या पुराना दलको अस्तित्व होइन, तिनको कतिपय विकृति हो। नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु हो। रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट खाकाबिना पार लाग्दैन।’

उनले यस्तो गम्भीर घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्नेमा जोड दिएका छन्। ‘नत्र नयाँ बोत्तलमा पुरानै रक्सी पिइरहँदा हामी फेरि–फेरि उही भ्रमको सिकार भइरहनेछौँ,’ उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad