नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशन अब अनिवार्य भएको बताएका छन्।
शुक्रवार पार्टी कार्यालय, सानेपामा विशेष महाधिवेशन पक्षधरहरूको माग पत्र बुझेपछि थापाले पार्टी केन्द्रीय कार्य समितिले अव विशेष महाधिवेशनको माग पूरा गर्न अनिवार्य भएको प्रतिक्रिया दिए। महामन्त्री थापाले मंसिर महिनाभित्र पार्टीको १५औँ महाधिवेशन नभएपछि पुस मसान्तसम्म गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको बताए।
‘पार्टीको विधानभन्दा माथि हामी कोही पनि छैनौँ। पार्टीको विधान नमान्ने अधिकार सुविधा हामी कसैलाई छैन,’ थापाले भने, ‘पार्टीको विधानले नै एउटा विशिष्ट व्यवस्था गरेको छ। विधानको धारा १७ (२) ले नेपाली कांग्रेस पार्टीको ४० प्रतिशतभन्दा बढि महाधिवेशन प्रतिनिधिले कुनै विशिष्ट कारण देखाएर विशेष महाधिवेशनको आवश्यक्ता बोध गरेमा विशेष महाधिवेशन डाकिनु पर्दछ। त्यो अनिवार्य छ। त्यो ऐच्छिक विषय होइन।’
महाधिवेशन नभएपछि विशेष महाधिवेशनको मागअनुसार अघि बढ्नु पार्टीको लागि अनिवार्य शर्त भएको उनको भनाइ थियो। ‘पुस मसान्तसम्मको अवधि विशेष महाधिवेशनको बाध्यकारी समय थियो। अहिले पत्रमा नै तपाईहरूले भनिसक्नुभएको छ- यसको बारेमा मैले अहिले धेरै टिप्पणी गर्न मिल्दैन। तर यति कुरा भन्छु कि– विशेष महाधिवेशन पुस मसान्तभित्र अनिवार्य गर्नुपर्ने कुरा यो अब नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिको अनिवार्य जिम्मेवारीभित्र पर्छ।’
महामन्त्री थापाले विशेष महाधिवेशनमा जाने कुरालाई अब पार्टी केन्द्रीय कार्यसमितिले नै स्विकार गर्नुपर्ने भएकाले त्यसमा आफूले थप टिप्पणी गर्न आवश्यक नभएको जिकिर गरे। ‘विशेष महाधिवेशनले नै केही विषयहरूको छिनोफानो गर्नुपर्छ। मंसिर महिनाभित्र पार्टीले नियमित महाधिवेशन गर्छ भने विशेष महाधिवेशनको आवश्यक्ता पर्दैन। अन्यथा विशेष महाधिवेशन अनिवार्य छ भन्ने कन्टेन्टसहितको पत्र यहाँ दर्ता गराउनुभएको थियो,’ थापाले भने।
महामन्त्री थापाले १५औं महाधिवेशन पुस मसान्तभित्र गरिसक्नुपर्ने भएकाले पनि विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्ने पार्टीको जिम्मेवारी भएको बताए।
Shares

प्रतिक्रिया