राजनीति


निर्वाचनको बाटोमा धेरै अगाडि बढिसक्यौँ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

निर्वाचनको बाटोमा धेरै अगाडि बढिसक्यौँ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १७:११, काठमाडौँ

निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको बताउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले घोषित मितिमा निर्वाचन हुनेमा कुनै शंका नरहेको जनाएका छन्। 

शुक्रबार आयोगको कार्यालयमा मिडिया सेन्टरको शुभारम्भ कार्यक्रममा बोल्दै भण्डारीले निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्नभन्दा आयोग धेरै अघि पुगिसकेको बताएका हुन्। ‘निर्वाचन हुन्छ कि हुदैन कि? कस्तो हुन्छ भन्ने विषयको छलफल अब सकियो। अब हामी त्यो बाटोमा प्रवेश गर्दैनौँ,’ उनले भने, ‘हामी निर्वाचनको बाटोमा धेरै अगाडि बढिसक्यौँ। अब फर्किनसक्ने अवस्था र स्थिति छैन।’

निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै उनले निर्वाचनको वातावरण बिथोल्ने प्रयास कसैले गरेको पाइएमा आयोगलाई शतर्क गराउन सञ्चारमाध्यमलाई अनुरोध गरे। यस अवस्थामा राजनीतिक दलहरूको गतिविधि र भूमिकालाई समेत समेत ध्यानपूर्वक हेर्न उनले आग्रह गरे। 
‘निर्वाचनका कार्यक्रमहरू अगाडि बढ्दै गर्दा राजनीतिक दलहरू कहाँ छन्? के गर्दैछन्? निर्वाचनलाई दलहरूले कसरी हेरिहरेका छन् भन्ने कुरा भुल्नु हुदैन। यदि कुनै तह र तप्काबाट निर्वाचन बिथोल्न सक्रिय तत्वहरूले पहिचान गरिदिनुभयो हामीलाई धेरै सहयोग हुन्छ,’ उनले भने, ‘निर्वाचनको विकल्प निर्वाचनबाहेक अरु केही हुन सक्दैन। त्यसकारण निर्वाचन बिथोल्ने तत्वहरू देखिए वेलैमा सचेत गराउनुपर्छ। सहज ढंगले समाचार समेत संप्रेषण गरिदिनुपर्छ।’

अन्तरिम सरकार गठनको समयमै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानअनुसार निर्वाचन गरिनुपर्ने कुरा राखेको उनले स्मरण गराए। संविधानको संरक्षण तथा सुशासन कायम गर्न निर्वाचन नै एक मात्र विकल्प भएको उनको भनाइ थियो। 

‘राष्ट्रपतिज्यूले सरकार गठनकै बखत संविधानमा थोरै छेड्खानी भए पनि अब संविधानबमोजिम निर्वाचन हुन्छ, संविधानको संरक्षण गर्नुपर्छ, मुलुकमा सुशासन कायम गर्नको लागि अरु विकल्प छैन निर्वाचन नै हो भनेर भन्नुभएको छ,’ भण्डारीले भने।

अब निर्वाचन बाहेक अर्को विकल्प नभएको उनको भनाइ थियो। ‘मुलुकले थप आन्दोलन थेग्न सक्दैन,’ भण्डारीले भने, ‘त्यसकारण तपाई हामी गौरव साथ बाँच्ने प्रयोजनको लागि पनि निर्वाचनमा सबैलाई सक्रिय रुपमा सहभागी गराएर सक्षम व्यक्तिहरूलाई संसद्मा पठाउने हाम्रो दायित्व हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad