तीन ठूला दलका शीर्षनेतासँगको भेटवार्तापछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मै चुनाव हुने र सबै दल सहभागी हुने बताएका छन्।
सरकारका प्रवक्ता खरेलले शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।
तीनै जनाको निवासमै पुगेर भेटवार्ता गरेका खरेलले तीनै दलका नेताले तोकिएको समयमा निर्वाचन हुनुपर्नेमा सहमति जनाएको बताए। ‘मैले तीन वटा ठूला दलका शीर्षनेतालाई भेटेँ। तीन वटै नेताले मसँग स्पष्ट रुपमा के भन्नु भएको छ भने- हामी चुनावको विरोध होइनौं। चुनाव हुनुपर्छ। चुनाव लोकतन्त्रको प्रयाय हो। चुनावबाट फ्रेस म्यान्डेट लिएर जनताबाट निर्वाचित हुनु राम्रो कुरा हो र त्यो नै उपयुक्त बाटो हो।’

मन्त्री खरेलले फागुन २१ मा हुने चुनावमा तीनै ठूला दलले भाग लिने बताए। ‘तीन वटा नेताहरूसँगको भेटघाटबाट म भन्दै छु- फागुन २१ गते चुनाव हुन्छ। सबै राजनीतिक दलले चुनावमा भाग लिन्छन्।’
कांग्रेस सभापति देउवा र नेकपा संयोजक प्रचण्डले चुनाव गराउन सरकारलाई सघाउने प्रतिबद्धता जनाएको खरेलले बताए। देउवाले आफ्नो पार्टीको प्राथमिकता चुनाव नै भएको बताएको खरेलको भनाइ छ। ‘कांग्रेस सभापति देउवाले नेपाली कांग्रेसको प्राथमिकता निर्वाचनै हो, संसद् पुनर्स्थापना होइन भन्नु भएको छ,’ खरेलले भने।

त्यस्तै, नेकपा संयोजक प्रचण्डले आफ्नो पार्टीको प्राथमिकता चुनाव नै भएको बताएको छन्। ‘प्रचण्डले निर्वाचनको विकल्प नभएकाले जसरी पनि निर्वाचनमा जानुपर्छ, फागुन २१ मै निर्वाचन हुनुपर्छ भन्नु भएको छ,’ खरेलले भने।
एमाले अध्यक्ष ओलीले भने चुनावी सुरक्षाको विषयमा चासो राखेको मन्त्री खरेलको भनाइ छ। ‘एमाले अध्यक्ष ओलीले निर्वाचनबाटै फ्रेस म्यान्डेट लिएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा द्विविधा छैन भन्नु भएको छ,’ खरेलले भने, ‘ओलीले चुनावको सुरक्षाका विषयमा चासो राख्नु भएको छ।’

एमाले अध्यक्ष ओलीले राखेको चुनावी सुरक्षाका विषयमा सरकारले ध्यान दिइरहेको उनले बताए। चुनावी वातावरण बनाउन सरकार लागिरहेको खरेलको भनाइ थियो। ‘सरकार चुनाव गराउने कुरामा प्रतिबद्ध छ। कुनै पनि हालतमा फागुन २१ मा चुनाव गर्नुपर्छ,’ उनले भने, ‘लगातार वार्ता, छलफल अघि बढाइरहेका छौं। चुनावका लागि सरकारको तयारी छ, राज्यका निकाय पनि सबै निर्वाचनमा लागेका छन्।’
तीनै दलका शीर्षनेतासँगको छलफलपछि चुनाव सुनिश्चित भएको उनको भनाइ छ। सबै दललाई चुनावमा सहभागी गराउन सरकारले वार्ता र छलफल गरिरहेको उनले बताए। आगामी दिनमा पनि प्रधानमन्त्रीको तहमा शीर्षनेतासँग छलफल जारी रहने उनको भनाइ थियो।
Shares

प्रतिक्रिया