काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राजनीतिक भेटवार्तालाई बिहीबार पनि जारी राखेका छन्।
भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकासमन्त्री कुलमान घिसिङसँग बिहीबार बिहान उनले भेटवार्ता गरेका हुन्।
कुलमानसँगको भेटमा मिलेर जाने समझदारी भएको एक नेताले बताए।
यद्यपि, समझदारीको हस्ताक्षर गर्नुअघि बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।
आफ्ना सहयोगी कुमार व्यञ्जनकारको घर ज्वागलमा बालेन–रवि छलफलमा छन्। फागुन २१ गतेको चुनावमा प्रधानमन्त्री उम्मेदवार तय गरेर जानुपर्ने उनको बटमलाइन छ।
यही विषयमा रास्वपा सभापतिसँग सोमबार कुरा मिल्न नसकेपछि बालेनले देश विकास पार्टीलाई अगाडि बढाउने भन्दै बुधबारदेखि राजनीतिक भेटवार्ता थालेका हुन्।
जसमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाही, नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने)का रेशमलाल चौधरी, विघटित प्रतिनिधिसभाका नेपाली कांग्रेसका सांसद सुनिल शर्मासहित सय बढीसँग छलफल गरे। बिहीबार पनि उनले बिहानैदेखि भेटवार्ता गरिरहेका हुन्।
बालेन देश विकास पार्टीको नेतृत्व लिएर वैकल्पिक शक्ति मिलाउने प्रयासमा छन्। तर रास्वपा भने उनलाई मिलाउने प्रयासमा छ।
अहिले बालेनका लागि तत्काल तीनवटा बाटा छन्।
पहिलो, कुलमान घिसिङको अगुवाइमा खुलेको उज्यालो नेपाल पार्टीसँग मिलेर अगाडि बढ्ने।
दोस्रो, देशविकास पार्टीलाई आफ्नै नेतृत्वमा अगाडि बढाउने। तेस्रो, रास्वपासँग मिलेर जाने। अहिले बाले यी तीनवटै विकल्पमा एकसाथ छलफलमा छन्।
बुधबारबाट देश विकास पार्टीलाई अगाडि बढाउने कसरत थालेका बालेन बिहीबार बिहानै उज्यालो नेपालका कुलमान घिसिङसँग वार्तामा बसे। वार्ता निष्कर्षउन्मुख पुगेको घिसिङ निकट एक नेताले नेपालखबरलाई जानकारी दिएका छन्।
निर्वाचन आयोगमा उनेपा र देशविकास पार्टी छुट्टा छुट्टै दल दर्ता भइसकेको छ। अब एउटै दल बनाएर जान सम्भव नभएपनि एउटै चुनाव चिह्न लिएर जान सक्छन्।
पार्टीको नेतृत्व कसले गर्ने र प्रधानमन्त्रीका रुपमा कसलाई उम्मेदवार बनाएर चुनावमा होमिने विषयमा जुटेको समझदारी नेताहरूले खुलाएका छैनन्।
यता सहमति नजिक पुगेर उठेका बालेन रास्वपा सभापति सभापतिसँग निर्णायक छलफलमा बसे।
Shares

प्रतिक्रिया