पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का नेता भरतमोहन अधिकारी पुत्री लीमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारमा दाबेदार बनेकी छन्।
प्रतिनिधि सभाको फागुन २१ गते हुने निर्वाचनमा समानुपातिक उम्मेदवारका लागि रास्वपामा आन्तरिक प्रतिस्पर्धा गरिरहेकी छन्। खस-आर्य समूहबाट उम्मेदवारको दाबेदार लीमाले आफ्ना एजेन्डा र योजना सार्वजनिक गरेकी छन्।
उनले सामाजिक न्याय, युवा स्वरोजगार र महिला सशक्तीकरणका एजेन्डालाई प्रतिबद्धतापत्रमा राखेकी छन्। ‘वैकल्पिक राजनीतिमार्फत जनप्रतिनिधित्व, जनताका समस्या र आवश्यकतालाई सदनसम्म पु¥याउने र समाजका आवाजविहीन वर्गको आवाज बुलन्द गर्ने मेरो पहिलो ध्येय हनेछ’, उनले भनिन्, ‘समावेशी समाज निर्माणका लागि नीतिगत तहमा रहेर प्रभावकारी भूमिका खेल्ने प्रतिबद्ध मेरो छ।’
रास्वपाले आफ्ना ठूलोबुबा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र बुबा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको सामाजिक उत्तरदायित्वसहितको राजनीतिक एजेन्डा अघि सारेको उनको भनाइ छ। २०५१ सालमा मनमोहनको नेतृत्वमा बनेको सरकारका अर्थमन्त्री भरतमोहनले ‘आफ्नो गाउँ आफैं बनाऔं’ लगायतका कार्यक्रम ल्याएको थियो।
त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धभत्ता र एकल महिलाका लागि भत्ताको सुरुआत पनि त्यहीवेला भएको थियो। मनमोहन र भरतमोहनले ल्याएका सामाजिक सुधारका कार्यक्रमलाई रास्वपामार्फत पूरा गर्न उम्मेदवारको दाबी पेश गरेको उनले बताएकी छन्।
मनमोहन र भरतमोहनको समयको जस्तो जनता र मुलुकलाई केन्द्रमा राखेर काम गर्ने एमाले अब नरहेको निश्कर्षसहित वैकल्पिक राजनीतिमा लागेको उनको भनाइ छ। लीलाले भनिन्, ‘म कुनै व्यक्तिगत आकांक्षा र शासकीय महत्वकांक्षाले राजनीतिमा आएको होइन। राल्य लोककल्याणकारी हुनुपर्छ र राज्यको श्रोत सबै नागरिकका बीचमा समान रुपमा वितरण गरिनुपर्छ भन्ने मान्यता बोकेर केही योगदान गरौं भन्ने उद्देश्यले यो बाटो रोजेकी हुँ।’
चीनको वुहान ह्वाचोङ विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गरेकी उनी रास्वपाको कोषाध्यक्ष हुन्। सक्रिय राजनीतिमा आउनुअघि नेपाल महिला चेम्बरको वरिष्ठ उपाध्यक्ष रहेकी थिइन्।
Shares

प्रतिक्रिया