राजनीति


सुर्खेत पुगेर गृहमन्त्री अर्यालले भने : सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन

सुर्खेत पुगेर गृहमन्त्री अर्यालले भने : सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन

नेपालखबर
पुस ९, २०८२ बुधबार ११:३२, सुर्खेत (वीरेन्द्रनगर)

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास र अपरिहार्य व्यवस्था भएकाले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पुर्‍याई शासनको वैधानिकता प्रदान गर्ने मूल प्रणाली रहेको बताएका छन्। 

बुधबार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त रूपमा आयोजना गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री अर्यालले फागुन २१ का लागि तय प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन्। 

उनले भने, ‘निर्वाचनबिना सुशासन कायम गर्न कठिन हुने र देश थप अस्थिरतातर्फ धकेलिन सक्ने हुँदा सुशासन चाहने हो भने निर्वाचनको विकल्प छैन।’

भर्खरै भएको जेनजी जनआन्दोलनले युवा पुस्तालाई यसले राजनीतिमा युवाहरूको मूल प्रवाहीकरण गरेको र अब उनीहरूलाई ब्याइपास गरेर जान नसकिने धारणा मन्त्री अर्यालले राखे। 

आवधिक निर्वाचन नै सुशासनको आधार भएको र ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्नमा सशक्त भएर काम गर्न सक्छ भन्ने तथ्यलाई भुल्नु नहुने उनले बताए।

गृहमन्त्री अर्यालले सुशासन दिन सकिएन भने विद्रोहको अवस्था सिर्जना हुने रहेछ भन्ने बुझेर नयाँ पुस्ता र उनीहरूका जायज माग बेलैमा सम्बोधन गरिनुपर्नेमा जोड दिए। 

नवपुस्तालाई केही राजनीतिक दलहरूले हाल आएर राजनीतिको प्रमुख पदहरूमा आबद्ध गराएको देख्दा सरकारलाई खुसी लागेको पनि मन्त्री अर्यालले बताए।

निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ गठन भएको नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको उनले बताए। 

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेको कुरा उनले दोहोर्‍याए।

यस्तै यही पुस ७ गते प्रधानमन्त्रीले आयोजना गरेको सर्वपक्षीय छलफलबाट आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा तोकिएकै मितिमा सम्पन्न गर्ने गरी साझा प्रतिबद्धता जाहेर भएको बेहोरासमेत मन्त्री अर्यालले कार्यक्रममा स्मरण गराए।

कर्णाली प्रदेश भौगोलिक रूपमा विकट, संवेदनशील र रणनीतिक महत्त्व बोकेको क्षेत्र भएको र यस आजको सुरक्षा गोष्ठीमा कर्णाली प्रदेशको सुरक्षा चुनौती विश्लेषण  गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि गरिएका र अझ गर्नुपर्ने तयारीबारे खुलेर छलफल गरी निष्कर्षमा पुग्ने विश्वाससमेत मन्त्री अर्यालले व्यक्त गरे।

यस्तै कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री यामलाल केडेलले प्रदेश सरकार आगामी निर्वाचनका लागि संघीय सरकारलाई साथ सहयोग गर्न तत्पर रहे पनि अहिले नै निर्वाचनको वातारण बनि नसकेको अवगत गराए।

राजनीतिक दल र दलीय व्यवस्थालाई नजर अन्दाज गर्दै जाने हो र सौहार्द राजनीतिक वातावरण प्रदेशमा नबनाउने हो भने आगामी निर्वाचन गर्न चुनौती हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad