नेकपा (एमाले)को केन्द्रीय कार्यालय, च्यासलमा नेताहरूसँग छलफलपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले एमाले पनि निर्वाचनमा जाने बताएका छन्।
सरकारी वार्ता टोली मंगलबार मध्याह्न एमाले कार्यालय पुगेको थियो। जेनजी आन्दोलनमा क्षति भएको कार्यालयको निरीक्षणपछि एमाले महासचिव शंकर पोखरेललगायतका नेताहरूसँग वार्ता टोलीले छलफल गरेको थियो।
महासचिव पोखरेललगायत नेताहरूसँग छलफलपछि सरकारका प्रवक्ता खरेलले एमाले पनि निर्वाचनमा जाने बताएका हुन्। ‘निर्वाचन आयोग आफ्नो काममा सक्रिय छ, सुरक्षा निकायहरू उच्च मनोबलका साथ परिचालित छन्,’ मन्त्री खरेलले सञ्चारकर्मीसँग भने, ‘निर्वाचनको वातावरण निर्माणको सन्दर्भमा एमालेले वातावरण बनाइदिनुहोस्, हामी निर्वाचनमा सहभागी हुन्छौँ भन्ने कुरा पार्टीका महासचिवले स्पष्ट रूपमा राख्नुभएको छ।’
स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन आफूहरूले सरकारको तर्फबाट एमाले नेताहरूसँग प्रतिबद्धता जनाएको उनले बताए। ‘कुनै पनि नेता वा कार्यकर्तालाई निर्वाचन प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआओस् भन्ने सुनिश्चितता सरकारले गर्नेछ,’ उनले भने, ‘नेताहरू सहज रूपमा मत माग्न बाहिर जान पाउँछन् कि पाउँदैनन् भन्ने कुरा छ। यी सबै वातावरण मिलाउने प्रतिबद्धता हामीले गरेका छौँ।’
जेनजी आन्दोलन जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका नेता रमेश लेखकलगायतलाई स्थानहद लगाएको छ। उनीहरूलाई काठमाडौँ बाहिर जान रोक लगाएको छ। त्यस विषयलाई लिएर पनि एमाले नेताहरूले सरकारी वार्ता टोलीसँग जिज्ञासा राखेका थिए।
सरकार आफ्नो अधिकार क्षेत्राधिकार, कानून र प्रक्रियाभित्र रहेर सम्पूर्ण वातावरण मिलाउन तयार रहेको मन्त्री खरेलले बताए। ‘आयोगले गरिरहेको काममा कुनै नकारात्मक असर नपर्ने गरी सरकार अघि बढ्नेछ। तर निर्वाचनमा सहभागी हुन उठाइएका जायज मागहरूलाई पनि सरकारले बेवास्ता गर्न सक्दैन,’ उनले भने।
सरकारले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा तीन सदस्यीय राजनीतिक वार्ता समिति गठन गरेको थियो। मन्त्री सिन्हा नेतृत्वको वार्ता टोलीले राजनीतिक दलहरूसँग छलफल थालेको छ।
यसअघि मंगलबार बिहान सरकारी टोली नेपाली कांग्रेसको कार्यालय सानेपा पुगेको थियो। टोलीले कांग्रेस उपसभापति धनराज गुरुङलगायतका नेताहरूसँग छलफल गरेको थियो।
Shares

प्रतिक्रिया