नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छन्।
मंगलबार कांग्रेसको पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा उपसभापति गुरुङले निर्वाचनबाट आशंका जनाएका हुन्।
जेनजी अगुवा सुदन गुरुङले निर्वाचन हुन नदिने भनेको उल्लेख गर्दै यसले सरकार निर्वाचन गराउन लागि परेको भन्नेमा आशंका उब्जाएको उनको भनाइ थियो। ‘प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौँ भनेपछि हामीले के भन्नु? हाम्रो के लाग्छ। केही न केही त छ। आशंका झन बलियो बनायो,’ गुरुङले भने।
निषेधको राजनीति गरेर र निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने उनको भनाइ छ। सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गर्नतर्फ नलागेको आरोप लगाए।
‘१० बुँदे सम्झौता गर्नेहरूले नै सम्झौताको मसी सुक्न नपाउँदै निर्वाचन हुन दिँदैनौँ भनिरहेका छन्। सम्झौता त यहाँहरूकै अघि च्यातिएको छ। के भइरहेको छ। नच्यात्ने पक्षले चुनाव हुन दिन्नौँ भनिसके। त्यसप्रति कतिको गम्भीर हुनुहुन्छ, हामी ध्यानपूर्वक हेरिरहेका छौँ,’ उनले भने।
पुराना वा नयाँ पार्टीको नाममा कुनै पनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुन नसक्ने जिकिर गरे। उनले कोही पनि मतदाताको मताधिकार नखोसियोस् भन्नेमा कांग्रेस दृढ रहेको बताए।
‘कसैले कसैलाई निषेधको राजनीति गरेर, निषेधको भावनाबाट अग्रसर भएर निर्वाचन सुसम्पन्न हुन सक्दैन। कुनै प्रश्न नउठ्ने ढंगबाट नेपाल सरकार अघि बढ्नुपर्छ,’ उनले भने, ‘कुनै कुना कन्तरामा आशंका उब्जिने गरी अघि बढ्न भएन।’
सबै मिलेर निर्वाचनको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। ‘सबै मिलेर गए निर्वाचन सम्पन्न हुन्छ। पुराना वा नयाँ पार्टीको नाममा कुनै पनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुँदैन,’ उनले भने, ‘हामी विध्वंश र मतपत्र च्याताच्यात भएको देख्न चाहँदैनौँ। हामी प्रजातन्त्र र लोकतन्त्रवादी हौँ। कसैको मताधिकार नखोसियोस्। मत हाल्ने अधिकारबाट वञ्चित नहोस्।’
उपसभापति गुरुङले कांग्रेस निर्वाचनबाट नभाग्ने बताए। उनले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न अझै नसकेको जिकिर गरे।
Shares

प्रतिक्रिया