राजनीति


‘आग्रहप्रेरित कटाक्ष’ नगर्न प्रदीप ज्ञवालीलाई ईश्वर पोखरेलको चेतावनी

‘आग्रहप्रेरित कटाक्ष’ नगर्न प्रदीप ज्ञवालीलाई ईश्वर पोखरेलको चेतावनी

नेपालखबर
पुस ८, २०८२ मंगलबार ६:२२, काठमाडौँ

नेकपा एमालेको अध्यक्ष पदमा पराजित नेता ईश्वर पोखरेलले नवनिर्वाचित केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलाई ‘आग्रहप्रेरित कटाक्ष’ नगर्न चेतावनी दिएका छन्।

सोमबार ज्ञवालीले सामाजिक सञ्जालमार्फत महाधिवेशन सकिएलगत्तै छुट्टै भेला गर्नु अनपेक्षित भएको भन्दै यसले पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरण हुने भनी पोखरेललक्षित अभिव्यक्ति दिएका थिए। 

त्यसैको जवाफ पोखेरलले दिएका हुन्। 

यद्यपि दुवै नेताले आफ्ना स्टाटसमा नाम किटेर लेखेका छैनन्। 

‘भर्खरै नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ। त्यहाँ उठेका छलफलका विषय, नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहमा रहनुभएका साथीहरूका बिचमा भएको सामान्य र बिदाइ छलफललाई लिएर अहिले केही साथीहरूले तरंगित बनेर सार्वजनिक गर्नुभएको प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको छ’, पोखरेलले लेखेका छन्, ‘कसैप्रति पनि आग्रहप्रेरित कटाक्ष गरिनु कुनै पनि अर्थमा पार्टी र आन्दोलनलाई लाभ पुर्‍याउने विषय नभएर नोक्सान मात्र पुर्‍याउने विषय हुन्। अनावश्यक तरंगित नबनौँ।’

यस्तो छ ईश्वर पोखरेलको पूरा स्टाटस:

सही कुरा बुझौँ!

भ्रममा परेर तरंगित नबनौँ!!

भर्खरै नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ। त्यहाँ उठेका छलफलका विषय, नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहमा रहनुभएका साथीहरूका बिचमा भएको सामान्य र बिदाइ छलफललाई लिएर अहिले केही साथीहरूले तरंगित बनेर सार्वजनिक गर्नुभएको प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको छ।

विगतमा पटकपटक पार्टीभित्रको बहस विवादमा नकारात्मक र नोक्सानदायी परिणाम झेल्दै र भोग्दै आएको पृष्ठभूमिका बारेमा हामी जानकार नै छौँ। त्यसले सिर्जना गरेको त्रासबाट हामी अहिले पनि केही हदसम्म त्रसित छौँ र पीडित पनि रह्यौँ।

तर अहिले विगतको त्यही त्रास वा ‘भूत’बाट तर्सिरहनु कति उचित हुन्छ? एउटा कुरा- विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुने छैन, हुन दिइने छैन। संस्थागत गरिएका (वा गरिने ) निर्णय र महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमा कसैबाट पनि कुनै काम हुने छैन। तर हरेक तहका नेता/कार्यकर्ताले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्; कसैलाई काखा, कसैले पाखा नगरियोस् भन्ने आशा र अपेक्षा गरेका हुन्छन्। र, त्यस्तो नहुँदा वा हुन नसक्ता त्यसप्रति असहमति वा विरोध भने हुनेछ भन्ने कुरालाई अस्वाभाविक रूपमा लिनु हुन्न पनि।

हो, यसपटक विभिन्न कारणले सर्वसम्मति भएन, नेतृत्वका लागि। (खासमा नेतृत्वबाट सर्वसम्मतिका लागि ठोस पहल नभएको कुरा महाधिवेशनका आम सहभागीहरूले बुझेकै हुनुपर्छ। नेतृत्वमा रहेका खास खासलाइ बिदा गर्ने पूर्वयोजना रहेर त त्यस्तो गरिएको त थिएन (धेरै सहभागीले यो प्रश्न मनमा लिएर आआफ्ना क्षेत्रमा फिरेको हुनुपर्छ)।

समूह/समूह बनेपछि र समूहकै हिसाबले प्रतिस्पर्धाको प्रक्रियामा गएपछि केही नीतिगत अडान, खासगरी पार्टी जीवनको लोकतान्त्रिकरणसित सम्बन्धित विषयमा केन्द्रीत रहेर विषयहरू उठाइएका थिए। ती मुद्दाका रूपमा प्रस्तुत गरिएका थिए, ‘अवधारणा पत्रका रूपमा सार्वजनिक गरिएका थिए र महाधिवेशनको बन्द सत्रमा समेत प्रस्तुत गरिएकै हुन्। अर्थात् , लुकाइरहनुपर्ने केही विषय छैनन् वा होइनन् पनि।

जे होस्, अहिले महाधिवेशनले एउटा निष्कर्ष दिइसकेको छ। त्यसलाई पालना गर्नु सबैको कर्तव्य हो। तर नेतृत्वबाट सबैले आत्मसमर्पण होइन, समान र सम्मानजनक व्यवहारको अपेक्षा पनि गरेका हुन्छन्। नेतृत्वले र तरंगित हुने सबैले बुझ्नैपर्छ। त्यस्तो हुन नसक्ता अप्रिय र नोक्सानदायी परिणाम भोग्न हामी सबै अभिशप्त हुने कुराबाट कसरी बच्न सकिएला र!?

रूपान्तपणका लागि निरन्तर बहस/छलफल, आधिकारिक र संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा पाखा नहुने कुराको सुनिश्चितता, विभाजनको दुर्भाग्यपूर्ण कुराको दृढतापूर्वक विरोध- अहिलेको आवश्यकता हो। महाधिवेशनमा नेतृत्व चयनमा समूह/समूह रहे पनि सम्बद्ध सबैलाई यिनै कुराबाट निर्देशित हुने/निर्देशित गर्नुपर्ने अहिलेको आवश्यकता हो।

कसैप्रति पनि आग्रहप्रेरित कटाक्ष गरिनु कुनै पनि अर्थमा पार्टी र आन्दोलनलाई लाभ पुर्‍याउने विषय नभएर नोक्सान मात्र पुर्‍याउने विषय हुन्। अनावश्यक तरंगित नबनौँ। सबैले बुझौँ। अहिले नेकपा (एमाले) सम्बद्ध सबै नेता, कार्यकर्ताहरूले यी कुरामा ध्यान पुर्‍याउनै पर्ला-

-विधि र प्रक्रियाअनुसार गरिएका/भएका संस्थागत निर्णयहरूको नि:सर्त पालना।

-पार्टी एकतालाई मजबुत बनाउन सबैबाट त्यसैअनुसारको व्यवहार! पार्टीलाई विभाजित बनाउने कुराको सख्त विरोध। सँगसँगै सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको पक्षपोषण।

यिनै कुराका आधारमा पार्टी नेतृत्वको प्रतिरक्षा हुन्छ, सबै षड्यन्त्रहरूलाई पराजित गर्न सकिन्छ। र, नेकपा (एमाले) लाई एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउन सम्भव हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad