श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ (हर्कराज राई) ले पार्टीका केन्द्रीय उपाध्यक्ष डा मित्र परियारलाई निलम्बन गरेका छन्।
अध्यक्ष राईले आज (पुस ७ गते) विज्ञप्ति जारी गरी पार्टीको आचारसंहिता उल्लंघन गरेकाले उपाध्यक्ष परियारलाई निलम्बन गरिएको जानकारी दिएका हुन्।
विज्ञप्तिमा अध्यक्ष राईले लेखेका छन्, ‘२०८२-९-५ गते बुटवलमा आयोजित आमसभामा आयोजकमाथि पार्टीका उपाध्यक्षमा मनोनीत श्री मित्र परियारले पार्टीको आचारसंहिताको बर्खिलाप हुने गरी अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिनु (कारण-१) का साथै जिल्ला सहसंयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरी गाली गरेको (कारण-२) हुनाले कारबाही गरी पदबाट निलम्बन गरिएको जानकारी गराउँदछु! श्रम संस्कृति पार्टीमा कोही नेता या कोही कार्यकर्ता नहरने, सबै श्रमदाता रहने भएको हुँदा कोही कसैले 'केन्द्र समितिको हुँ' भन्दै आबद्ध सदस्यहरूलाई अपमान गर्ने किसिमको अभिव्यक्ति र व्यवहार गरे यस्तै प्रकारको कारबाही गरिने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु।’
यसअघि घटनाकै दिन शनिबार सामाजिक सञ्जालमार्फत ‘नसच्चिएसम्म कारबाही’ गरेको भनी जानकारी गराएका राईले आज (सोमबार) भने पार्टीको लेटरप्याडमै लेखिएको आधिकारिक सूचना जारी गरेका हुन्।

देशदौडाहा अभियानअन्तर्गत श्रम संस्कृति पार्टीले शनिबार रुपन्देहीको बुटवलमा चुनावी सभा आयोजना गरेको थियो। जसलाई उपाध्यक्ष परियारले पनि सम्बोधन गरेका थिए।
तर त्यस क्रममा परियार आयोजकप्रति आक्रोशित हुँदै बोलेका थिए।
त्यस सम्बोधनको सार्वजनिक भिडिओमा परियार भनिरहेका छन्, ‘साथीहरू! यहाँ आयोजक साथीहरूले अलिकति मिस्टेक गर्नुभएको छ। ध्यान त्यता बोल्ने यता हुन सक्दैन साथीहरू।...म केन्द्रीय उपाध्यक्ष हो, मैले पनि बोल्न पाउनुपर्छ, ध्यान अन्त मोडिनु हुँदैन।...’
यसअघि एउटा मुद्दामा प्रहरीले पक्राउ गरेपछि अर्का उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई उनले पुस २ गते निलम्बन गरिसकेका छन्।
उपाध्यक्ष तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी मुद्दा दर्ता भएको छ। त्यही मुद्दामा उनलाई सीआईबीले पुस १ गते बुढानीलकण्ठ नगरपालिका-११ कपनबाट पक्राउ गरेको थियो। थप कारबाहीका लागि उनलाई पाँचथर पठाइएको छ।
धनकुटाको पार्खिवास नगरपालिका-९ का ५० वर्षीय राजकुमार काठमाडौँको बुढानीलकण्ठ-११ कपनमै बस्ने गर्थे। उनी यसअघि पनि जेल सजाय भोगिसकेका व्यक्ति हुन्।
दुई उपाध्यक्ष निलम्बन भएसँगै अब श्रम संस्कृति पार्टीमा एकजना उपाध्यक्ष लोकनाथ चुडाल मात्र बाँकी छन्।
उपाध्यक्ष राजकुमारलाई निलम्बन गरिएपछि र अर्का उपाध्यक्ष परियार कारबाही नपर्दै पार्टीका केन्द्रीय प्रवक्ता सत्य घले गुरुङले पुस २ गते जारी गरेको अध्यावधिक विवरणमा उपाध्यक्षमा लोकनाथ चुडाल र मित्र परियारको नाम छ।
हेर्नुहोस्:

Shares

प्रतिक्रिया