प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)सँगै जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका सांसदले पनि सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका छन्।
संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका विघटित प्रतिनिधि सभामा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे आज थप सांसदको हस्ताक्षर बुझाएको बताए। ‘कांग्रेस ६५ जना सांसदको हस्ताक्षर बुझाएका छौँ,’ घिमिरेले नेपालखबरसँग भने, ‘जनमत, जसपा र एक जना स्वतन्त्र गरी तीन सांसदको पनि हस्ताक्षर बुझाएका हौँ।’
घिमिरेका अनुसार, मनमत पार्टीकी सांसद गोमा लाभ सापकोटाले हस्ताक्षर गरेकी छन्। त्यस्तै, जसपा सांसद हसिना खानले पनि रिटमा हस्ताक्षर गरेकी छन्। यससँगै स्वतन्त्र सांसद योगेन्द्र मण्डलको हस्ताक्षर पनि बुझाइएको घिमिरेले जानकारी दिए।
कांग्रेस, जसपा, जनमत र स्वतन्त्र गरी ६८ सांसदको हस्ताक्षर बुझाइएको हो। सोमबार वारिस मार्फत हस्ताक्षर बुझाइएको उनले बताए।
नेकपा (एमाले)ले यसअघि नै छुट्टै रिटमार्फ सबै सांसदको हस्ताक्षर बुझाइसकेको छ। एमालेका ७५ सांसद छन्। यसरी प्रतिनिधि सभा विघटनविरुद्ध १४३ सांसदको हस्ताक्षर सर्वोच्च अदालतमा पुगेको छ।
प्रतिनिधि सभामा २७५ सदस्य छन्। सरकार निर्माणका लागि १३८ सांसद आवश्यक पर्छ। बहुमत सांसद रहेको देखाउनका लागि कांग्रेस, एमाले, जसपा र जनमतका सांसदले हस्ताक्षर बुझाएको जनाएको छ।
Shares

प्रतिक्रिया