राजनीति


मधेसको सभामुखमा रामअशिष यादव निर्वाचित

मधेसको सभामुखमा रामअशिष यादव निर्वाचित

नेपालखबर
पुस ६, २०८२ आइतबार १८:१४, काठमाडौँ

मधेस प्रदेशको सभामुखमा रामअशिष यादव निर्वाचित भएका छन्। सत्तारुढ सात दलीय गठबन्धनको तर्फबाट जसपा नेपालका सांसद यादव प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत सभामुख पदमा निर्वाचित भएका हुन्।

उनको पक्षमा प्रदेश सभामा उपस्थित ९६ प्रदेशसभा सदस्यहरूमध्ये ७२ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो।

नेपाली कांग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले उनको पक्षमा मतदान गरेका थिए। त्यस्तै नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले विपक्षमा मतदान गरेका थिए।

प्रदेशसभा सदस्य रामअशिष यादवलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा प्रदेश सभामा उपस्थित प्रदेशसभा सदस्य संख्याको बहुमत रहेकाले अर्का सभामुख पदका उम्मेदवार त्रिलोकी प्रसादको प्रस्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गर्नुपरेको थिएन।

१०७ सदस्य मधेश प्रदेशसभामा हाल नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन्। यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक–एक सिट रहेको छ।

गएको कात्तिक २४ गते ठूलो दलको हैसियतमा रातारात मधेसको मुख्यमन्त्री नियुक्त भएका एमालेका सरोज यादवको पद २४ दिनमै गएपछि एमाले मधेसमा प्रतिपक्ष कित्तामा पुगेको छ।

यो प्रकरणमा एमालेलाई सहज हुनेगरि प्रदेश सभा बैठक सञ्चालनको आरोप लागेका सभामुख रामचन्द्र मण्डल मंसिर ३ गते विपक्षी दलको महाअभियोगबाट पदमुक्त भएपछि सभामुख पद रिक्त भएको हो

यो प्रकरणमा एमालेले मधेसमा मुख्यमन्त्रीसँगै प्रदेश प्रमुख पनि गुमाएको छ।

मुख्यमन्त्री यादवसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी र सभामुख मण्डल पनि यो प्रकरणमा पदमुक्त भएका हुन्।  

यादवको विवादास्पद नियुक्तिपछि प्रदेश प्रमुख सुवेदीलाई सरकारले कात्तिक २४ गते नै पदमुक्त गरेर मधेसमा सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख बनाएको छ।

गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त भएका थिए।

पुस ४ गते उनलाई गठबन्धनका कांग्रेससहित जसपा नेपाल, जनमत नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीसहित विपक्षमा पुगेको एमाले र सत्ता बाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टी समेतले विश्वासको मत दिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad